काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा आफूलाई पटक–पटक गरिएको सुरक्षा जाँचप्रति असन्तुष्टि जनाएका छन् । इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले विमानस्थलमा मेटल डिटेक्टरबाट पटक–पटक जाँच तथा शरीर खानतलासी गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
ओलीले विमानस्थलमा एक ठाउँमा जाँच गरिसकेपछि पनि विभिन्न स्थानमा पुनः जाँच गरिने गरेको गुनासो गरे । ‘मेटल डिटेक्टर लगाएको छ, यो गर्यो, उ गर्यो । के निकाल्न खोज्नुभयो ? के बरामद गर्न खोज्नुभयो ?’ उनले प्रश्न गरे ।
उनले काठमाडौं तथा भद्रपुर विमानस्थलमा समेत आफूले पटक–पटक यस्तै जाँचको सामना गर्नुपरेको बताए । ‘पल्टाई–पल्टाइकन छाम्छन्, के भेटिन्छ भनेर हो,’ ओलीले भने, ‘मेटल डिटेक्टर लगाउँछ, फेरि अर्को ढोकाबाट छिराउँछ, त्यहाँ पनि जाँच गर्छ । एक ठाउँमा जाँचेपछि त पुग्नुपर्ने हो नि !’
ओलीले आफूले कुनै अवैध वस्तु नबोकेको दाबी गर्दै विमानस्थलको सुरक्षा जाँचप्रति व्यङ्ग्यसमेत गरे । ‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट । के खोज्नुभयो ? मसँग १९० तोला सुन छैन, कतै लुकाएको केही पनि छैन,’ उनले भने ।
उनले विमानस्थलमा सर्वसाधारण तथा विशिष्ट व्यक्तिमाथि कडाइका साथ जाँच गरिए पनि सीमाबाट हुने तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको आरोप लगाए । ‘ट्रकका ट्रक तस्करी सीमाबाट भएको रहेछ, एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछ,’ ओलीले भने ।
यसअघि पनि गरेका थिए गुनासो
ओलीले विमानस्थलको सुरक्षा जाँचप्रति यसअघि पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । गत माघमा पनि आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै उनले विमानस्थलमा गरिएको जाँचप्रति आपत्ति जनाएका थिए ।
यसपटक इलाममा दिएको अभिव्यक्तिमा पनि ओलीले विमानस्थलमा पटक–पटक गरिने सुरक्षा जाँचलाई अनावश्यक झन्झटको रूपमा चित्रण गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्