खोटाङ, १ भदौ । खोटाङमा गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ।
गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा स्थानीय तहको सीमा हेरफेर, गाभ्ने प्रक्रिया तथा नगरपालिका वर्गीकरणको पुनरावलोकनबारे छलफल थालिएको हो।
जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला निकायसँग प्रारम्भिक छलफल गरेको छ।
जिल्ला समन्वय समितिले गठन गरेको अध्ययन समितिले सरोकारवालासँग थप छलफल गर्नुका साथै स्थलगत अध्ययन गर्नेछ। विज्ञको सहयोगमा निर्धारित मापदण्डअनुसार स्थानीय तहको सीमा तथा संख्या पुनरावलोकन गर्ने योजना रहेको छ।
जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईका अनुसार हाल खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह तथा ७९ वडा रहेका छन्। पहिलो चरणमा स्थानीय तहको संख्या र सीमा हेरफेरसम्बन्धी मापदण्डबारे अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिबाहेक अधिकांश राजनीतिक दलका नेताहरूले तत्काल नगरपालिका, गाउँपालिका र वडाको संख्या घटाउन नहुने धारणा राख्नुभएको छ। यद्यपि, अपायक क्षेत्रमा रहेका वडालाई आवश्यकताअनुसार टुक्र्याएर पायक पर्ने अर्को वडा वा स्थानीय तहमा समायोजन गर्न सकिने सुझाव दिइएको छ।
बैठकमा सहभागी नेताहरूले वडाको संख्या घटाउनुको सट्टा आवश्यकताअनुसार थप वडा गठन गर्नुपर्ने धारणा समेत राख्नुभएको छ।
स्थानीय सरकार व्यवस्थापन ऐन, २०७३ को दफा १७ अनुसार स्थानीय तहको सीमा तथा संख्या हेरफेरसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ। सोही आधारमा स्थानीय तहको वर्गीकरणसम्बन्धी मापदण्ड तथा सीमा निर्धारण र पुनःसंरचनासम्बन्धी कार्यविधिअनुसार छलफल अघि बढाइएको जिल्ला समन्वय समितिले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्