काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच सोमबार जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
नेपाली सेनाका अनुसार भेटमा नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध तथा दुवै देशका सेनाबीचको आपसी हित र सहकार्यका विषयमा छलफलभएको थियो।
भेटअघि भारतीय स्थल सेनाध्यक्ष सेठले सैनिक मञ्च टुँडिखेलमा रहेको वीर सैनिक स्मारकमा माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जङ्गीअड्डामा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो।
राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने
भारतीय स्थल सेनाध्यक्ष सेठलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा लामो समयदेखि कायम छ। यही परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्।
नेपाली सेनाका अनुसार राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि सैन्य सहकार्य, उच्चस्तरीय भ्रमण, तालिम तथा पारस्परिक सहयोग हुँदै आएको छ।
दुवै देशका सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने परम्परालाई नेपाल–भारतबीचको विशिष्ट सैन्य सम्बन्धको प्रतीकका रूपमा लिइन्छ।
भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाटले दुई देशका सुरक्षा निकायबीचको सम्बन्ध तथा आगामी सहकार्यका विषयमा समेत संवादलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्