काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा पार्टीका केही पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।
रास्वपाका एक नेताका अनुसार बैठकमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसहित विभिन्न पदमा मनोनयन गर्ने तयारी छ । बैठकबारे केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ ।
यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो । यसअघि साउन १३ गते बसेको पहिलो बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने सभापति लामिछानेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो ।
२७ सचिवालय र ५१ केन्द्रीय सदस्य मनोनयन बाँकी
रास्वपामा हाल २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । त्यस्तै, केही पदाधिकारी पद पनि रिक्त छन् ।
साउन १३ गतेको बैठकले पदाधिकारीमध्ये पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको थियो । अब भदौ ५ गते बस्ने बैठकबाट बाँकी संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्