हेटौँडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री बानियाँले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ।
बहुमत नपुग्ने भएपछि बानियाँको राजीनामा
मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि सोमबार राजीनामा दिएका हुन्।
१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको मात्र समर्थन थियो।
आवश्यक बहुमत नपुग्ने भएपछि विश्वासको मतको प्रक्रिया अघि नबढाई उनले राजीनामा दिएका हुन्।
नयाँ सरकारका लागि सत्ता समीकरणको तयारी
राजीनामा स्वीकृत भएसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। अब बहुमत जुटाउन सक्ने दल वा दलहरूको गठबन्धनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्नेछ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्