दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए। पक्षमा परेको ४५ मत बहुमत भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।
आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्।
प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारू, माया पुन र सरोज थापा अनुपस्थित रहे।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।
कांग्रेसले समर्थन फिर्ता लिए पनि सरकारमा रहेका अन्य दलको समर्थन कायम राख्दै आचार्यले प्रदेशसभामा बहुमत जुटाएका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्