काठमाडौँ । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनका कारण कलंकी–नागढुङ्गा सडकखण्डमा क्षति बढ्दै गएको छ। सडक विभागका अनुसार ओभरलोडका कारण सडकको आयु घट्दै गएपछि नियमित मर्मतसमेत अपेक्षाभन्दा छिटो गर्नुपर्ने अवस्था आएको छ।
काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार सडकमा बालुवा, गिट्टी तथा अन्य निर्माण सामग्री बोकेका ट्रकबाट पानी चुहिने समस्या पनि बढेको छ। यसरी सडकमा पानी चुहिँदा सडक सतह चिप्लो बन्ने र मोटरसाइकललगायत सवारीसाधनको ब्रेक प्रभावकारी रूपमा नलाग्ने भएकाले दुर्घटनाको जोखिम बढेको उनले बताए।
छ महिनामै सडकको अवस्था बिग्रियो
देवकोटाका अनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा करिब छ महिनाअघि मात्रै ओभरले गरिएको थियो। सामान्य अवस्थामा सडकको ओभरले कम्तीमा पाँच वर्षसम्म टिक्नुपर्ने भए पनि ओभरलोडका कारण अपेक्षाभन्दा छिटो सडक मर्मत गर्नुपर्ने अवस्था आएको उनले बताए।
सडकको अवस्था बिग्रिएको र ओभरलोडका कारण क्षति भइरहेको गुनासोपछि सडक विभागले मंगलबार राति उक्त सडकखण्डमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँडेको र तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएको देवकोटाले जानकारी दिए।
१० टन क्षमतामा २५ टनसम्म भार
देवकोटाका अनुसार मालवाहक सवारीको एउटा एक्सलले सडकमा अधिकतम १० टनसम्म भार वहन गर्ने क्षमता तोकिएको छ। तर अनुगमनका क्रममा सिंगल एक्सल भएका ट्रकले १२ देखि १३ टनसम्म र डबल एक्सल भएका ट्रकले २५ टनसम्म भार बोकेर गुडिरहेको पाइएको छ।
‘बालुवा, गिट्टी बोकेका ट्रकहरूले बाटोभरि पानी चुहाएर हिँड्ने गरेका कारण सडक दुर्घटना बढ्ने र सडकको आयु कम हुने गरेको गुनासो आएपछि हामी अनुगमनमा आएका थियौँ,’ देवकोटाले भने, ‘कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँडेको र कतिपयले ढल्लाको आकारसमेत बढाएको पायौँ।’
उनका अनुसार सवारीसाधनले बढी भार बोक्नुपर्ने भए त्यसअनुसार एक्सलको क्षमता पनि बढाउनुपर्ने हुन्छ। तर मापदण्डअनुसार सवारीको क्षमता नबढाई भार थप्ने प्रवृत्ति बढेको उनले बताए।
अनुगमनका क्रममा यातायात व्यवस्था कार्यालयबाट स्वीकृत मापदण्डभन्दा ठूलो ढल्ला बनाएर सञ्चालन गरिएका केही ट्रकसमेत भेटिएको देवकोटाले जानकारी दिए।
पानी चुहाउने ट्रकबाट दुर्घटनाको जोखिम
बालुवा, गिट्टीलगायत सामग्री बोकेका ट्रकबाट पानी सडकमा चुहिँदा सडकको सतह चिप्लो बन्ने गरेको छ। विशेषगरी दुईपांग्रे सवारीसाधनका लागि यस्तो अवस्था जोखिमपूर्ण हुने देवकोटाले बताए।
सडक चिप्लो हुँदा मोटरसाइकल तथा स्कुटरको ब्रेक प्रभावकारी रूपमा नलाग्न सक्ने र सवारीसाधन अनियन्त्रित भएर दुर्घटना हुने सम्भावना बढ्ने उनको भनाइ छ।
ओभरलोडका कारण सडकको संरचनामै क्षति पुग्ने र पानी चुहिने समस्याले सडक सुरक्षामा समेत असर पर्ने भएकाले समस्या नियन्त्रणका लागि कडाइ आवश्यक रहेको सडक विभागको निष्कर्ष छ।
कारबाहीका लागि प्रहरी र प्रशासनसँग समन्वय
ओभरलोड नियन्त्रण तथा मापदण्डविपरीत सञ्चालन हुने मालवाहक सवारीमाथि कारबाहीका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने जनाएको छ।
सडक विभागसँग आफैँले ओभरलोडका सवारीमाथि कारबाही गर्ने प्रत्यक्ष अधिकार नभएकाले सम्बन्धित निकायसँगको समन्वयमा नियमन गर्नुपर्ने देवकोटाले बताए।
यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र नेपाल प्रहरीले नियमित अनुगमन तथा नियमन गरेमा सडकमा हुने क्षति र दुर्घटनाको जोखिम दुवै घटाउन सकिने उनको भनाइ छ।
कलंकी–नागढुङ्गा सडक राजधानी प्रवेश गर्ने प्रमुख मार्ग भएकाले यहाँ ओभरलोड नियन्त्रण र सडक सुरक्षाको प्रभावकारी नियमन नहुँदा सडकको दीर्घकालीन टिकाउसँगै दैनिक आवागमनको सुरक्षामाथि समेत असर पर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्