काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभामा दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि कानुनी र संवैधानिक प्रक्रियाका सबै पक्षलाई ध्यान दिनुपर्ने बताएका हुन्।
संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भन्दै विभिन्न राजनीतिक दलले दिएको अभिव्यक्तिको उनले स्वागत गरे। तर प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संशोधन प्रक्रिया पूरा नहुने उनको भनाइ छ।
“संविधान संशोधनका लागि प्रतिनिधिसभामा मात्र दुई तिहाइ संख्या पुग्नु पर्याप्त हुँदैन,” लामिछानेले भने, “संविधान र कानुनी व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रिया र पक्षलाई ध्यान दिनुपर्छ।”
सरकारलाई सहयोग गर्ने तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा संविधान र कानुनले तोकेको प्रक्रियाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।
लामिछानेले राजनीतिक भावनाभन्दा संवैधानिक र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए। “संविधान संशोधनजस्तो संवेदनशील विषयमा कानुन र संविधानका सबै प्रावधानलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ,” उनले भने।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्