काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी (पासपोर्ट) प्रकरणमा पर्याप्त कैफियत देखिएपछि आयोगले मुद्दा दायर गरेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले प्रमाण र अनुसन्धानका आधारमा मात्रै अभियोजनको निर्णय लिइएको दाबी गरे ।
बैठकमा अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर थुनेको विषय उठेपछि राईले प्रधानमन्त्रीले छलफल र सुझावका लागि बोलाउनु स्वाभाविक भएको बताए । आफूहरू पनि सोही क्रममा छलफलमा सहभागी भएको र आवश्यक सुधारका विषयमा सुझाव दिएको उनले जानकारी दिए ।
पासपोर्ट प्रकरणमा मुद्दा दायर भइसकेकाले विस्तृत विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको राईले बताए । विषय कानुनी प्रक्रियामा प्रवेश गरिसकेकाले आफूले थप विस्तृत टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।
राईले अभियोजनपत्रमै मुद्दा अघि बढाउनुका आधार र देखिएका कैफियत स्पष्ट रूपमा उल्लेख गरिएको बताए । उनले पर्याप्त आधार र कैफियतबिना आयोगले अभियोजनको निर्णय नगर्ने दाबी गरे ।
उनले भने, “पासपोर्टको विषयमा प्रधानमन्त्रीज्यूले सम्बन्धित पक्षलाई छलफल र सुझावका लागि बोलाउनुभएको हुनसक्छ । हामी पनि त्यसैगरी छलफलमा सहभागी भएका हौँ । छलफलपछि सुधार गर्नुपर्ने विषय पहिचान भयो र त्यसअनुसार केही सुधार पनि गरियो ।”
उनका अनुसार मुद्दा दायर भइसकेकाले अब त्यसको कानुनी पक्ष सम्बन्धित निकायले नै हेर्ने विषय हो । अभियोजनपत्रमा उल्लेख गरिएका तथ्य र कागजात हेर्दा मुद्दा आधार तथा कैफियतबिनै अघि बढाइएको भन्न नमिल्ने उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्