काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। पार्टीभित्रको बढ्दो विवाद र १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला दुई शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
डा. कोइराला देउवालाई भेट्न उनको निवास चुनदेवी पुगेका थिए। भेटमा पार्टीको पछिल्लो आन्तरिक विवाद, महाधिवेशन प्रक्रिया र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ।
डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो। पार्टीभित्र देखिएको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको उनको भनाइ छ।
कांग्रेस सभापति गगन थापाले विवादकै बीच १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिइरहेका बेला देउवा र कोइरालाबीचको भेटले पार्टीभित्र नयाँ राजनीतिक समीकरण र संवादको सम्भावनाबारे समेत चर्चा सुरु भएको छ।
महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे देउवा
देउवाले शुक्रबार नै कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
आगामी असोज १६ देखि १९ गतेसम्म निर्धारित १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको रिट अहिले सर्वोच्च अदालतमा अध्ययनको क्रममा रहेको बताइएको छ।
कांग्रेसको आधिकारिकता सम्बन्धी विवादसमेत अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने देउवा पक्षको तर्क रहेको बुझिएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि यस विषयमा कानुनी कदम चाल्नेबारे आन्तरिक परामर्श गरिरहेका छन्।
पुनरवलोकनको निस्साले जटिल बन्यो महाधिवेशनको बाटो
गत साउन २१ गते सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनका लागि निस्सा दिएपछि पार्टीको आन्तरिक राजनीतिक र कानुनी विवाद थप जटिल बनेको छ।
देउवा पक्षले यही विषयलाई आधार बनाउँदै विवाद टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने धारणा राख्दै आएको छ। अब सर्वोच्च अदालतले रिटमाथि कस्तो निर्णय गर्छ भन्ने विषयले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकामै प्रभाव पार्न सक्ने देखिएको छ।
शशांक निवासमा संस्थापनइतर पक्षको छलफल
यता कांग्रेसको संस्थापनइतर पक्षका शीर्ष नेताहरू शुक्रबार दिउँसो पूर्वमहामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा समेत छलफलमा जुटेका थिए।
नेता एनपी साउदले डा. शेखर कोइरालालाई फोन गरेर छलफलमा सहभागी हुन आग्रह गरेका थिए। तर डा. कोइरालाले आफू संस्थापनइतर पक्षका नेताहरूसँग निरन्तर संवादमै रहेको बताउँदै शुक्रबारको छलफलमा उपस्थित हुन समय नमिल्ने जवाफ दिएका थिए।
उनले भनेका थिए, “म तपाईहरूसँग नियमित संवादमै छु त। आज आउन भ्याउँदिनँ होला।”
देउवा–शेखर भेट, सर्वोच्च अदालतमा महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिट र संस्थापनइतर पक्षभित्र जारी छलफलले कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ। अब अदालतको निर्णय र शीर्ष नेताहरूबीचको आगामी संवादले १५औँ महाधिवेशन निर्धारित समयमै हुने वा नयाँ राजनीतिक तथा कानुनी मोड लिने भन्ने निर्धारण गर्नेछ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्