काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ।
शुक्रबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको अध्यक्षतामा काठमाडौं उपत्यकासहित बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दै आएका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल भएको थियो। सोही बैठकमा सांसद तामाङ र स्थानीय तहका प्रमुखबीच विवाद भएको हो।
बैठकमा सांसद तामाङले फोहोर व्यवस्थापनबाट प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा सहभागी प्रतिनिधिहरूलाई पनि घर जान हतार भएको टिप्पणी गरेपछि विवाद सुरु भएको बताइएको छ।
त्यसपछि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैलीप्रति आपत्ति जनाउँदै स्थानीय तहको भूमिकामाथि टिप्पणी गर्नुअघि फोहोरमैला व्यवस्थापनको इतिहास अध्ययन गर्न आग्रह गरे।
‘हेर्नुस्, तपाईँको कुरा धेरै आक्रामक छ, यसरी हुँदैन। कुरा गर्दाखेरी फोहोरमैला व्यवस्थापनको इतिहास पनि स्टडी गर्नुपर्छ,’ महर्जनले भने।
महर्जनको प्रतिक्रियापछि सांसद तामाङले ‘छलफल यहाँ होइन, बञ्चरेडाँडामा हुन्छ’ भन्दै टेबल ठोकेको र बैठकबाट बाहिरिएको बताइएको छ।
सांसद तामाङ बाहिरिएपछि सहभागी सांसद तथा स्थानीय तहका प्रमुखहरूले बैठकको संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए। उनीहरूले आगामी दिनमा यस्ता छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री तिमल्सिनाको ध्यानाकर्षण गराएका थिए।
मन्त्री तिमल्सिनाले बैठकमा विवाद साम्य पार्दै छलफललाई सकारात्मक दिशामा लैजाने प्रयास गरेका थिए। तर केही समय बैठकको वातावरण तनावपूर्ण बनेको थियो।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्