काठमाडौं । भारतको महाराष्ट्रस्थित लातुर जिल्लाको जावलीमा रहेको जिल्ला परिषद् उर्दू विद्यालयमा अनुमतिबिना प्रवेश गरी सरकारी काममा बाधा पुर्याएको र शिक्षकहरूलाई धम्क्याएको आरोपमा ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेसहित उनका साथीहरूविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।
विद्यालयकी शिक्षिका सय्यद शमशादबानो खैरातालीको उजुरीका आधारमा औसा प्रहरी स्टेसनमा मुद्दा दर्ता गरिएको हो ।
सीजेपीले भारतभर ‘फिक्स द स्कुल’ अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत नागरिकलाई सरकारी विद्यालयको निरीक्षण गरी त्यहाँका कमी–कमजोरीको दस्तावेज तयार पार्न र आधारभूत सुविधा सुधारका लागि स्थानीय अधिकारीमाथि दबाब दिन आग्रह गरिएको छ ।
प्रहरीका अनुसार दीपके अनुमतिबिना विद्यालय परिसरमा प्रवेश गरी विद्यार्थीहरूसँग सोधपुछ गरेका थिए । त्यसक्रममा विद्यालयको पठनपाठन तथा सरकारी कामकाज प्रभावित भएको आरोप छ ।
दीपकेले शिक्षकहरूलाई निलम्बन गराइदिने धम्की दिएको तथा भ्रमणका क्रममा अर्कै विद्यालयका विद्यार्थीलाई ल्याएर राखेको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ ।
मुम्बईबाट पाँच सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जावलीस्थित विद्यालयमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्