काठमाडौं । इरानका उपपरराष्ट्रमन्त्री काजेम गरिबाबादीले इजरायललाई हतियार तथा सैन्य सहयोग जारी राखेको भन्दै बेलायत र फ्रान्सको आलोचना गरेका छन्।
बेलायत र फ्रान्सका १०२ जना पूर्वकूटनीतिज्ञले आफ्ना सरकारलाई इजरायलमाथि ठोस दबाब बढाउन र हतियार आपूर्ति रोक्न संयुक्त अपिल गरेपछि इरानले त्यसप्रति प्रतिक्रिया जनाएको हो।
‘चिन्ता व्यक्त गरेर जिम्मेवारीबाट उम्किन मिल्दैन’
इरानी उपपरराष्ट्रमन्त्री गरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत बेलायत र फ्रान्सले इजरायलको गतिविधिप्रति चिन्ता व्यक्त गरेर मात्र आफ्नो जिम्मेवारीबाट उम्किन नमिल्ने बताएका छन्।
उनले इजरायललाई हतियार तथा सैन्य सहयोग उपलब्ध गराउनु त्यहाँ भइरहेको भनिएको अपराधमा प्रत्यक्ष संलग्नता जनाउनु भएको टिप्पणी गरेका छन्। इजरायललाई हतियार आपूर्ति जारी राख्दा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चेतावनीसमेत उनले दिएका छन्।
पूर्वकूटनीतिज्ञको हतियार रोक्न माग
अलजजिरा र फ्रान्सेली पत्रिका ले मोन्डेमा प्रकाशित खुला पत्रअनुसार बेलायत र फ्रान्सका १०२ जना अनुभवी पूर्वकूटनीतिज्ञले इजरायलको नीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पूर्वकूटनीतिज्ञहरूले इजरायललाई दिइँदै आएको हतियार आपूर्ति तथा सैन्य सहकार्य तत्काल रोक्न माग गरेका छन्। त्यस्तै, वेस्ट बैंकमा रहेका अवैध इजरायली बस्तीहरूसँगको व्यापारिक सम्झौता तथा आयात–निर्यातमा प्रतिबन्ध लगाउन पनि उनीहरूले आग्रह गरेका छन्।
उनीहरूले हेगस्थित अन्तर्राष्ट्रिय अदालतका फैसला कार्यान्वयन गर्न तथा गाजामा यूएनआरडब्ल्यूएमार्फत मानवीय सहायता पुर्याउने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्। पत्रकार तथा कूटनीतिज्ञलाई गाजामा पहुँच सुरक्षित गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।
इरानले यसअघि पनि इजरायलको सैन्य कारबाहीको विरोध गर्दै प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्