काठमाडौं । इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव अघि सारिएको छ। वातावरण संरक्षणमन्त्री इदित सिलमानले नाइल प्रजातिका गोहीलाई ‘पालन गरिएका जंगली जनावर’को नयाँ वर्गमा राखेपछि यस्तो प्रस्ताव अघि बढाउने बाटो खुलेको बताइएको छ।
सञ्चारमाध्यमका अनुसार राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले गत डिसेम्बरमा प्यालेस्टिनी कैदी राखिने जेल वरपर गोही तैनाथ गर्ने प्रस्ताव गरेका थिए। अमेरिकाको फ्लोरिडास्थित गैरकानुनी आप्रवासीलाई राखिने ‘एलिगेटर अल्काट्राज’ केन्द्रबाट यो अवधारणा प्रेरित भएको जनाइएको छ।
नयाँ वर्गीकरणअनुसार नाइल प्रजातिका गोहीलाई यसअघि जस्तै ‘जंगली जनावर’को श्रेणीमा नराखी ‘पालन गरिएका जंगली जनावर’को रूपमा वर्गीकरण गरिने बताइएको छ। यस परिवर्तनपछि वातावरणीय सर्त पूरा गरेर इजरायल प्रिजन सर्भिसलगायत सरकारी सुरक्षा निकायले गोही राख्न सक्ने बाटो खुल्नेछ।
बेन–ग्विरले दक्षिण इजरायलस्थित केत्सियोट जेलको सुरक्षामा गोही प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्। बिहीबार उनले सामाजिक सञ्जालमा गोहीलाई साङ्लोले बाँधेर राखिएको एआई निर्मित तस्बिरसमेत सार्वजनिक गरेका थिए।
तर, प्रस्तावको इजरायल नेचर एन्ड पार्क्स अथोरिटीले विरोध गरेको छ। जंगली जनावरलाई अनुसन्धान तथा शैक्षिक प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गर्दै प्राधिकरणले विगतमा गोही भागेका घटना समेत रहेकाले जेल सुरक्षामा प्रयोग गर्दा जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।
इजरायल प्रिजन सर्भिसका अधिकारीहरूले समेत गोहीलाई जेल सुरक्षामा प्रयोग गर्ने प्रस्ताव व्यावहारिक नरहेको भन्दै व्यंग्य गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्