मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन्।
१०४ सदस्यीय प्रदेशसभामा मतदानका लागि ५८ जना सदस्य उपस्थित थिए। मुख्यमन्त्री थापाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ५७ मत परेको र विपक्षमा कुनै मत नपरेको प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले जानकारी दिइन्।
प्रस्तावको पक्षमा परेको ५७ मत तत्काल कायम प्रदेशसभा सदस्य संख्याको बहुमतभन्दा बढी रहेकाले मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिएको हो।
प्रतिपक्षीविहीन बैठक
विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षीविहीन बनेको थियो। बागमती प्रदेशसभामा विश्वासको मत लिने क्रममा प्रतिपक्षी दलको उपस्थिति नरहेको यो पहिलो पटक भएको बताइएको छ।
नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बैठकमा उपस्थित भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा पक्ष पनि बैठकमा सहभागी भएन।
मुख्यमन्त्री थापाको पक्षमा नेकपा, नेकपा एमाले र राप्रपाको एउटा पक्षका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बागमती प्रदेशसभामा नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसद छन्।
मुख्यमन्त्री थापा नेकपा, एमाले र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
‘सबै पक्षलाई समेटेर अघि बढ्छौँ’
विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले सहमति र सहकार्यका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
प्रदेशसभाको प्रतिपक्षी बेञ्च खाली रहेको विषयमा उनले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षीविहीन अवस्था राम्रो नभएको बताए।
मुख्यमन्त्री थापाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा सरकारको साझा न्यूनतम कार्यक्रम छिट्टै ल्याउने प्रतिबद्धता जनाए। प्रदेश सरकार संघीयताको महत्वपूर्ण आधार भएकाले प्रदेश सरकार बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाइ थियो।
यसअघि विश्वासको मतसम्बन्धी छलफलमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले धारणा राखेका थिए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्