काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पार्टीका विभिन्न तह तथा निकायलाई निर्देशन दिएका छन् ।
लामिछानेले बाढी प्रभावितको उद्धार तथा राहतमा रास्वपाका तर्फबाट भइरहेको गतिविधिबारे पार्टीका विभिन्न तह तथा निकायबाट जानकारी लिएका हुन् ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन पार्टीको उपलब्ध संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि उनले निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन लामिछानेले आग्रह गरेका छन् ।
लामिछानेले बाढी प्रभावित पालिकाका सभापतिहरूसँग समेत छलफल गरी स्थानीय अवस्थाबारे जानकारी लिएको प्रवक्ता खरेलले बताए ।
Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्