हुम्ला । काठमाडौं हुँदै रसुवाको केरुङ नाका भएर मानसरोवर–कैलाश दर्शनका लागि नेपाल प्रवेश गरेका १४९ जना भारतीय पर्यटक हुम्लाको हिल्सा नाकाबाट नेपाल फर्किएका छन्।
भोटेकोशी बाढीका कारण केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि मानसरोवर–कैलाश यात्रामा रहेका भारतीय पर्यटकहरू वैकल्पिक मार्गका रूपमा हिल्सा नाकाबाट नेपाल फर्किएका हुन्।
सशस्त्र प्रहरी बल, ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार चार दिनको अवधिमा कैलाश दर्शनका लागि गएका बाह्य पर्यटक तथा नेपाली ट्रेकिङ गाइड गरी १४९ जना हिल्सा नाकाबाट नेपाल प्रवेश गरेका छन्।
भदौ १० गते आएको भोटेकोशी बाढीका कारण केरुङ नाकामा यातायात सेवा अवरुद्ध भएको छ। त्यसपछि पर्यटकहरू हिल्सा नाका हुँदै नेपाल फर्किन थालेका हुन्।
साउदका अनुसार भदौ ११ गते १०७ जना, १२ गते १९ जना, १३ गते १२ जना र १४ गते ११ जना हिल्सा नाकाबाट नेपाल प्रवेश गरेका छन्।
हिल्सा हुँदै नेपाल फर्किनेमा २२ जना नेपाली गाइड समेत रहेको साउदले जानकारी दिनुभयो।
हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर–कैलाश दर्शन गरेर फर्किने भारतीय पर्यटकको संख्या बढेसँगै हिल्सा–सिमकोट हेलिकोप्टर उडान तथा नेपालगञ्ज–सिमकोट हवाई उडानसमेत बढेको साउदले बताउनुभयो।
पर्यटकहरू हिल्साबाट हेलिकोप्टरमार्फत सिमकोटतर्फ जाने क्रम बढेको छ। हिल्साको हेलिप्याडमा पर्यटकको चाप बढेपछि सिमकोटका लागि हेलिकोप्टर उडानसमेत थप गरिएको जनाइएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्