काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा घिसिङ पार्टीका पदाधिकारीसहित पुगेका थिए। उनले ठूलो विपद्का क्रममा भएका कमजोरीलाई अब तत्काल सम्बोधन गर्दै उद्धार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्ने बताए।
“धेरै ठूलो विपत्ति भएकाले ल्याप्सेस भएकै छन् । त्यसलाई सम्बोधन गर्दै अघि बढ्नुको विकल्प छैन।”
घिसिङले बाढीका कारण विभिन्न आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई सरकारको पहिलो प्राथमिकता बनाउन आग्रह गरेका छन्।
उनका अनुसार आफूहरूको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी सरकारसँग उपलब्ध स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक थप स्रोत तत्काल जुटाएर उद्धार अभियान अघि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेको थियो।
“अहिलेको विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर हामीसँग भएको रिसोर्स र बाहिरबाट थप रिसोर्स तत्काल परिचालन गरेर सुरुङमा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिनुपर्छ भन्यौँ।”
प्रधानमन्त्री शाहले पनि बाढीमा फसेका नागरिकको उद्धारबारे चासो राखेको र आवश्यक परे स्वदेशी तथा विदेशी दक्ष जनशक्ति ल्याउन सरकार तयार रहेको जानकारी गराएको घिसिङले बताए।
शव व्यवस्थापनमा ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
घिसिङले बाढीपछि फेला परेका शवको व्यवस्थापनमा भएको ढिलाइले प्रभावित क्षेत्रका नागरिकमा आक्रोश बढिरहेको विषयसमेत प्रधानमन्त्रीसमक्ष राखेका छन्।
“हामी फिल्डमा जाँदा डेडबडी व्यवस्थापन स्थानीय तहको मात्र होइन, आम नागरिकबाटै आक्रोस आएको थियो । त्यो कुरा हामीले प्रधानमन्त्रीसमक्ष राखेका छौँ।”
उनले शव पहिचान, व्यवस्थापन तथा परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित र छिटो बनाउनुपर्ने बताए।
होल्डिङ सेन्टरमा रहेकाको स्वास्थ्य र सामाजिक सुरक्षाको प्रश्न
भेटमा बाढीका कारण विस्थापित भई होल्डिङ सेन्टरमा राखिएका नागरिकको सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्थापनबारे पनि छलफल भएको घिसिङले जानकारी दिए।
“होल्डिङ सेन्टरमा बस्नेहरूको सामाजिक र स्वास्थ्यको हिसाबले कसरी व्यवस्थित बनाउने भन्ने प्रश्न उठाएका थियौँ।”
प्रधानमन्त्रीले सरकार विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक र समर्पित भएर लागिरहेको बताएको घिसिङले जानकारी दिए।
बालबालिकाको पढाइबारे पनि चासो
घिसिङले विपद्बाट प्रभावित बालबालिका तथा विद्यार्थीको शिक्षालाई निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार प्रभावित बालबालिकालाई काठमाडौंमा ल्याएर राख्ने व्यवस्थाबारे प्रधानमन्त्रीले जानकारी दिएका थिए।
विपद्का कारण अभिभावक गुमाएका, विस्थापित भएका वा विद्यालय जान नसक्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा र सुरक्षालाई सँगसँगै अघि बढाउनुपर्ने घिसिङको धारणा छ।
त्रिशूली पारिका क्षेत्रमा राहत व्यवस्थित गर्न आग्रह
घिसिङले सडक पुगेका स्थानसम्म सरकारी निकायबाट राहत सामग्री पुगिरहेको भए पनि त्रिशूली नदी पारिका कतिपय क्षेत्रमा राहत वितरण व्यवस्थित हुन नसकेको बताए।
विभिन्न संघसंस्था तथा अन्य निकायले समेत राहत वितरण गरिरहेका कारण त्यसलाई एकीकृत र व्यवस्थित बनाउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।
बेत्रावतीसम्म सडक र बेलिब्रिज विस्तारको सुझाव
घिसिङले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई सहज बनाउन बेत्रावतीसम्म तत्काल सडक पहुँच सहज बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
त्यसैगरी आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गर्न सके राहत, उद्धार र पुनर्स्थापनाका कामलाई तीव्र बनाउन सकिने उनको भनाइ छ।
उनले विपद्पछिको अवस्थामा तत्कालीन राहतसँगै यातायात पहुँच पुनर्स्थापना, उद्धार, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्