काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीपछि चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, तथ्यांक तथा उच्च प्रविधिमा आधारित मौसम पूर्वानुमान सेवा उपलब्ध गराउने क्रम तीव्र बनाएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीमापार विपद्को अनुगमन तथा आपत्कालीन उद्धारमा सहयोग पुर्याउन चीनले नेपाललाई भूउपग्रह तथ्यांकसहित उच्च प्रविधिमा आधारित मौसमसम्बन्धी सूचना उपलब्ध गराइरहेको छ।
चीन मौसम विज्ञान प्रशासनका अनुसार चीनले आफ्नो एआई–सञ्चालित मौसमी पूर्वसूचना प्रणाली ‘माजु’ मार्फत फङयुन–३ र फङयुन–४ शृंखलाका भूउपग्रहबाट प्राप्त बहुस्रोत तथ्यांक तथा मौसमी विवरण नेपाललाई वास्तविक समयमै उपलब्ध गराइरहेको छ।
गत भदौ १० (अगस्ट २६) मा केरुङ–रसुवागढी सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि चीनको राष्ट्रिय भूउपग्रह मौसमी केन्द्रले प्रभावित क्षेत्रमा वर्षा तथा मौसममा भइरहेको परिवर्तनको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
उच्च रिजोल्युसनका भूउपग्रह तस्बिर तथा तथ्यांकमार्फत माथिल्लो तटीय क्षेत्रमा भएको हिउँ–चट्टान पहिरो र नदीको बहावसमेत निगरानी गरी विपद्को अवस्था मूल्यांकनमा सहयोग पुर्याइएको चिनियाँ पक्षले जनाएको छ।
नेपालका लागि विशेष रूपमा तयार पारिएका मौसम विज्ञानसम्बन्धी सेवाहरूलाई चिनियाँ फङयुन भूउपग्रह प्रणालीसँग प्रत्यक्ष जोडिएको जनाइएको छ। यसबाट नेपालमा व्यापक क्षेत्रमा हुने वर्षा, चट्याङ तथा अन्य तीव्र मौसमी गतिविधिको वास्तविक समयमै निगरानी गर्न सहयोग पुग्ने चीनको भनाइ छ।
विपद्पछि निरन्तर तथ्यांक आदानप्रदान
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा विपद्पछि चिनियाँ मौसमी तथा जलस्रोतसम्बन्धी निकायले नेपाली समकक्षीसँग निरन्तर समन्वय गरिरहेको बताएका थिए।
उनका अनुसार दुवै देशका सम्बन्धित निकायबीच मौसम तथा विपद् अनुगमनसम्बन्धी तथ्यांक आदानप्रदान भइरहेको छ।
गुओले नेपालमा आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउन चीनले आगामी दिनमा पनि मौसमसम्बन्धी सूचना, भूउपग्रह तथ्यांक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन्।
भोटेकोसी तथा सीमाक्षेत्रमा आएको बाढीपहिरोपछि मौसम, नदीको बहाव र माथिल्लो तटीय क्षेत्रमा हुने सम्भावित जोखिमको समयमै पहिचान गर्न सीमापार सूचना आदानप्रदान र वैज्ञानिक अनुगमनको महत्त्व थप बढेको देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्