बाँके, २० भाद्र ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले गौहत्या प्रकरणमा छानविनको लागि भन्दै बाँके नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई नियन्त्रणमा लिएको छ । गौहत्या भएको दिनदेखि नै फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा पक्राउ गरिएको हो । सुर्खेत प्रहरीले छानविनको लागि भन्दै नेपालगञ्जबाट सुर्खेत गाई गोरु लैजाने चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्तसिंह श्रेष्ठलाई समेत पक्राउ गरेको छ । उनी दुवैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । गत भदौं १३ गते दैलेख लैजाने भनेर नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जि हाउसबाट ल्याइएका गाई गोरु वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकैको भिरमा ३६ वटा मृत अवस्थामा भेटिएका थिए । गौहत्या भनिएको विवादमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा। धवलशमशेर राणा, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, जिल्ला प्रशासन कार्यालय बाँके समेत तानिएका छन् । गाई गोरु मृत फेला पारेपछि सुर्खेत प्रहरीले भाग्दै गरेको अवस्थामा आठ वटा ट्रक मध्ये पाँच ट्रक र चालक तथा दुई सहचालकलाई नियन्त्रणमा लिएको थियो ।
गत भदौं १२ गते राती नेपालगञ्जको काञ्जि हाउसबाट दैलेख लैजाने भनेर आठ वटा ट्रकमा २ सय ९१ वटा गाई गोरु लोड गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्