बुटवल, ६ माघ। प्रदेश ५ सरकारले गर्न लागेको प्रदेश लगानी सम्मेलनको पुर्व तयारी स्वरुप आज बुटवलमा अन्तर संबाद कार्यक्रम गरिएको छ । प्रदेशको समृद्दीको खाका कोर्ने उद्देश्यले प्रदेश सरकारले यसै आर्थिक वर्ष भित्र प्रदेश लगानी सम्मेलनको पुर्व तयारीका चरणमा अन्तरसंबाद गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सार्वजानिक निजी साझेदारी संबाद कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले औद्योगिक बिकासका लागि राजनितीक वाताबरण अनुकुल हुनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ मा मक्का मदीनाको महत्वपूर्ण सम्पदा रहेको उल्लेख गर्दै ती सम्पदाहरु माटोमुनी लुकेर बसेको बताउनु भयो ।
नवलपरासी र कपिलवस्तुमा माटो मुनी सम्पदाको खानी भएको बताउंदै मुख्यमन्त्री पोखरेलले खानी उत्खनन् मात्र गर्न सके त्यो स्थान सम्पदाको शहर बन्न सक्ने बताउनु भयो ।
उहांले आर्थिक समृद्धी हासिल गर्न धार्मीक पर्यटनलाई ब्यवसायीकरण गर्न आवश्यक रहेको बताउंदै प्रदेश नम्बर ५ को स्वर्गद्धारी हिन्दुहरुका लागि पशुपतिनाथ पछिको दोस्रो तिर्थस्थल बन्न सक्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उपस्थित उद्योगी ब्यवसायीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ब्यवसायीले १ अर्व बढीको लगानी गर्ने गरि स्थान पहिचान गरे प्रदेश सरकारले बिद्युत र सडकको जिम्मा लिने आश्वासन समेत दिनुभयो ।
उद्योगी ब्यवसायीलाई बिद्युतको खपत बढाउन आग्रह गर्दै उहांले दिनमा बिद्युत खपत गर्दा बिद्युतमा छुट दिने तयारी सरकारले गरेको जानकारी दिनुभयो । ब्यवसायीले माग गरेको अवस्थामा प्रदेश सरकारले दक्ष जनशक्ति उपलब्ध गराउन समेत सरकार तयार रहेको उहांको भनाई थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर ईश्वर गौतमले बिकास र समृद्दीका लागि प्रदेश ५ सबैभन्दा उपयुक्त प्रदेश भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेशका स्थानीय सरकारका प्रमुख तथा उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो । सरकारले आगामी बसन्त ऋतुमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्