धनगढी,२६ मंसिर। यतिवेला कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ ।
कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।खकैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन पर्खेर बसेको जानकारी दिए ।
निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल उत्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।
थारू आन्दोलन उत्कर्षमा पुगेको बेला ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस्