काठमाडौं, २७ मंसिर । लोकसेवा आयोगले विभिन्न सेवाको लागि शाखा अधिकृतको विज्ञापन खुलाएको छ । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त आवहान गरेको हो।
खुलातर्फ २०६ पद र महिलामा ५९ पदको लागि दरखास्त खुला गरेको हो । समावेशीतर्फ आदिवासी(जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी(जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
आयोगको दरखास्त फारम अनलाईन बाटै भर्न सकिने छ । अथवा आगामी पुस १८ गतेसम्म वा दोब्बर दस्तुर तिरि पुस २५ गतेसम्म दरखास्त भर्न सकिने छ । दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा(छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ भने दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्