काठमाडौं । विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा पोखरा राइनोजसग ७ विकेटले पराजित हुदै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले २४ बल खेल्दा तीन छक्का र चार चौका प्रहार गरे । त्यसैगरी, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदान गरे । उनले तीन छक्का र चार चौका प्रहार गरे । साहन अर्चाचिगेले ४३ रन जोडे ।
कप्तान विनोद भण्डारी १५ रनमा अविजित रहे भने रित गौतम ५ रनमा आउट भए । विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक÷एक विकेट हात पारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका हिर्काए । सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाउदा तीन छक्का प्रहार गरे । दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे ।
पोखराका बिक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक÷एक विकेट हात पारे । यस जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, लगातार चार खेलमा पराजय भोगेको विराटनगर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्