काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमाडौं गोर्खाजले श्रीलंकाका अलराउन्डर सहन अराचचिगेलाई अनुबन्ध गरेको छ । गोर्खाजले बुधबार सामाजिक सञ्जालमार्फत सहनलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
३० वर्षीय सहनले श्रीलंकाका लागि पाँच एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी हाल श्रीलंका ‘ए’ टोलीको कप्तानीसमेत गरिरहेका छन् ।
हालै सम्पन्न लंका प्रिमियर लिग (एलपीएल) मा सहनले गल गालान्ट्सलाई पहिलोपटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतियोगिताका ११ खेलमा २४० रन बनाएका थिए । उनको स्ट्राइक रेट १४७ भन्दा बढी थियो । सहन यसअघि पनि नेपालमा फ्रेन्चाइज क्रिकेट खेल्न आइसकेका छन् ।
सहन माथिल्लो क्रममा ब्याटिङ गर्न सक्ने र अफ स्पिन बलिङ गर्ने अलराउन्डर हुन् । उनको आगमनले काठमाडौं गोर्खाजको ब्याटिङसँगै बलिङ र फिल्डिङमा समेत थप विकल्प हुने अपेक्षा गरिएको छ ।
काठमाडौं गोर्खाजका क्रिकेट डाइरेक्टर शरद भेषावकरले सहनलाई दबाबमा समेत राम्रो प्रदर्शन गर्न सक्ने खेलाडीका रूपमा वर्णन गरेका छन् । उनले सहनको स्पष्ट मानसिकता र ब्याटिङ, बलिङ तथा फिल्डिङ क्षमताले टोलीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्