काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सरकारले सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह र विपद् व्यवस्थापनसम्बन्धी निकायलाई उद्धार तथा राहतका लागि उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भीषण बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद सूचना प्राप्त भएको बताएका छन्। उनले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिएका छन्।
उनका अनुसार रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ।’
उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताएका छन्।
मन्त्री तिमिल्सिनाले नागरिकलाई नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय र आधिकारिक निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले परिस्थितिको विकास अझै हुन सक्ने भएकाले अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न र कुनै जोखिम वा विपद्को अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।
अर्थ मन्त्रालयको उच्चस्तरीय समन्वय
यता, अर्थमन्त्रीको सचिवालयले पनि रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपास केही घण्टाअघि ठूलो बाढी आएको जानकारी प्राप्त भएको जनाएको छ।
सचिवालयका अनुसार प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा खोज, उद्धार र आवश्यक राहत व्यवस्थापनका लागि उच्चस्तरीय समन्वय भइरहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा अर्थ मन्त्रालयका सम्बन्धित अधिकारीहरूले भन्सार कार्यालय र मातहतका निकायसँग समन्वय गरिरहेको जनाइएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य तीव्र बनाउने तयारी भइरहेको सरकारी निकायहरूले जनाएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्