रूपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टी केन्द्र र प्रदेशसभा सभामुखसमक्ष सिफारिस गरेको छ।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन्।
संसदीय दलले सोही दिन प्रदेशसभा सचिवालयलाई पनि पत्र पठाएर काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्न अनुरोध गरेको छ।
विश्वासको मतमा अनुपस्थित भएको आरोप
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणअनुसार निरन्तरता दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार मुख्यमन्त्री आचार्यलाई समर्थन गर्न र भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न जसपा नेपालले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको थियो।
तर, प्रदेशसभा सदस्य काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलको आरोप छ।
दलको निर्देशन उल्लङ्घन गरेको भन्दै भदौ २ गते काफ्लेसँग स्पष्टीकरण माग गरिएको थियो। तर, उनले स्पष्टीकरण नदिएको संसदीय दलले जनाएको छ। त्यसपछि भदौ ५ गते पुनः २४ घण्टाभित्र स्पष्टीकरण दिन मौका दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ नदिएको दलको दाबी छ।
दलबाट निष्कासनको निर्णय
दलको निर्देशन उल्लङ्घन गरी संसदीय दलको अवहेलना गरेको ठहर गर्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) बमोजिम दलबाट निष्कासन गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।
संसदीय दलले उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउने कानुनी प्रक्रिया अघि बढाउन पार्टी केन्द्र र प्रदेशसभा सचिवालयसमक्ष सिफारिस गरेको हो।
काफ्ले लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट समानुपातिकतर्फ निर्वाचित प्रदेशसभा सदस्य हुन्। लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सदस्य छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्