काठमाडौँ १० माघ । पश्चिमी वायुको का कारण आज विहानैदेखि काठमाडौँ उपत्यकालगायत देशैभर वर्षा भएको छ । मौसमविद्ले बुधबार दिनभर नै मौसम बदली हुने र पानी पर्ने बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी जिल्ला र हिमाली भेगमा वर्षासँगै हिमपात पनि सुरु भएको छ । पश्चिम नेपालबाट प्रवेश गरेको पानी पार्ने प्रणाली बुधबार साँझबाट क्रमशः पूर्वतिर सर्ने र त्यतापनि पानी पर्ने मौसमविद्को भनाई छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
हिमपातका कारण हिजोमात्र चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि कठिनाई भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्