काठमाडौँ, १२ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्षमा सीता सुन्दास चयन हुनुभएको छ ।
महासंघको दुई दिनसम्म राष्ट्रियसभा गृहमा भएको परिषद् बैठकले बिहीबार राति सुन्दासको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुनुहुन्छ ।
यस्तै, उपाध्यक्षमा सन्तमान तामाङ चयन हुनुभएको छ । तामाङ जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख हुनुहुन्छ । २५ सदस्यीय कार्यसमिति रहने महासंघमा अध्यक्ष, उपाध्यक्ष र २३ सदस्य रहने व्यवस्था रहेको छ ।
पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । महासंघले जिल्लाको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछ ।
–––
प्रतिक्रिया दिनुहोस्