काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुँदै छ । राष्ट्रपतिको कार्यालय शीतल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको शपथको सम्पूर्ण तयारी सकिएको छ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनी प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् । पौडेलले ३३ हजार ८०२ मतभार र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्