सुर्खेत, १ चैत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने बताएका छन् ।
पार्टीको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतको गुभार्कोटमा आयोजित नगरस्तरीय प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेकपा (एमाले)ले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दाबी गरे ।
पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको दाबी गर्दै सचिव भट्टराईले कम्युनिस्ट गठबन्धन भत्काएको प्रचण्डले प्रतिक्रियावादीको सेवक बनेको आरोप लगाए । उनले भने, “एमालेसहित बनेको गठबन्धन भत्काउन अँध्यारो कोठाभित्र के कस्ता षड्यन्त्र भए त्यो त खुल्दै जान्छ । त्यस्तो गठबन्धन बनाउन प्रचण्डले जे भूमिका खेले त्यसको उनले चरित्र उदांगो बनाएको छ ।”
समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि कांग्रेसजस्तो प्रतिक्रियावादीको सेवा गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्