दाङ,२४ माघ।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य शंकर पोखरेलले राजनीतिक गतिरोध अन्त्य भएको बताउनुभएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार राष्ट्रियसभा निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अब सबै राजनीतिक गतिरोध अन्त्य भएको बताउनुभएको हो ।
प्रदेश नम्बर ५ का भावी मुख्य मन्त्रीका रूपमा हेरिएका पोख्रेलले भन्नुभयो ‘राष्ट्रिय सभाको निर्वाचन पनि भइसक्यो, त्यसैले अब सबै स्थानमा जनप्रतिनिधिले शासन गर्ने छन् र संविधानपूर्ण रूपमा क्रियाशील हुनेछ ।’ उहाँले सबै निर्वाचन सम्पन्न भएको हुँदा अब संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सकिएको समेत तर्क प्रस्तुत गर्नुभयो । अब मुलुक सकारात्मक दिशातिर अगाडि बढ्ने बताउनुएको उहाँले देशवासी सबैका लागि यो सुखद क्षण भएको बताउनुभयो ।
फरक प्रसंगमा पोखरेलले स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएको बताउनुभयो । ‘राष्ट्रियसभा निर्वाचनले गर्दा १२ वटै जिल्लाका प्रदेशसभा सदस्यहरूले दाङलाई निहाल्न पाएका छन् र अब उहाँहरूले सही निर्णय गर्ने आशा गर्न सकिन्छ,’ पोखरेलले भन्नुभयो ।
उहाँले घुमाउरो पाराले दाङ नै प्रदेश राजधानीको लागि प्रदेशमा सबैभन्दा उपयुक्त स्थान भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्