जनकपुरधाम, २४ माघ । श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न नमान्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मटितेल शरीरमा छर्किएर आगो लगाएर हत्याको प्रयास भएको खुलेको छ। हजाराको टाउको भन्दा तलको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भएकी छिन्।
उपचारको लागि काठमाडौंको कीर्तिपुर पुर्याइएको छ। शनिबार बिहान ९ बजे जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि पठाएको थियो।
हार्सरका अलिशेख कवारीका छोरा २४ वर्षका रसिद राईनसँग वैवाहिक बन्धनमा बाँधिएकी हजरा जलिराख्दा श्रीमान रसिद घरमै थिए। उनलाई प्रहरीले घटना स्थलाबाटै नियन्त्रणमा लिएको हो। माइती पक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिका सम्पूर्ण सदस्यले मटितेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँचजना विरुद्ध उजुरी दिएको छ।
हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। तर, प्रहरीले हालसम्म हजराको श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ।
प्रहरीका अनुसार छिमेकले हजरा आफैँले आगो लगाएको बताएका छन् । तर, हजराका बुबा सकुर राईनले परिवारकै सबैजना मिलेर छोरीलाई जलाएर मार्ने प्रयास गरेको कुरा छोरीले होसमा आएपछि सुनाएको बताएका छन्।
‘घरपरिवारका सबैजनाले मर्लाइ जबरजस्ती समातेर घरमा लगे। जिउमा मटितेल छर्केर आगो लगाएर कोठा थुनेर भागे, म चिच्याइरहे, कसैले सुनेन्, आगोले जलेर म बेहोस् भएँ, त्यसपछि के भयो मलाई थाहा भएन’, छोरीलाई उद्धृत गर्दै उनले भने।
छोरीलाई अस्पताल भर्ना गराएर घर फर्किएका बुबा सकुरका अनुसार केही महिनादेखि श्रीमानसहित घरपरिवारले हजरालाई नराख्ने, सम्बन्ध विच्छेद गर्ने भन्दै यातना दिँदै आएका थिए। त्यस पश्चात आफूहरुले प्रहरीमा उजुरी दिएपछि गत पुस ३० गते मात्र जिल्ला प्रहरी कार्यालय धनुषा भित्र रहेको महिला तथा बालबालिका कार्यालयमा पञ्चायत भई अब यातना नदिने र हजरालाई १२ दिनभित्र नागरिकतासमेत बनाइदिने सहमति भएको थियो। यद्यपी पञ्चायत भएको एक महिना नबित्दै यो घटना सार्वजनिक भएको हो।
छोरीलाई अहिलेसम्म नागरिकतासमेत नबनाइदिएको र आफूले बेलाबखत फोन गर्न दिएको मोबाइल र सीमकार्डसमेत श्रीमानले खोसेर भलाकुसारीसमेत गर्न नदिने गरेको सकुरको आरोप छ।
बुबा सकुरले छोरी गम्भीर घाइते भएर अस्पतालमा भर्ना हुँदा ससुरा पक्षले एक पैसा नदिएको र आफू गरिबीको कारण उपचार गराउन समस्यामा परेकोसमेत दुखेसो पोखे।
उनले भने जाहेरी दिएको मध्ये ज्वाईलाई मात्र प्रहरीले पक्राउ गरेको छ र अन्य अभियुक्तलाई पक्रेर घटनाको सत्यतथ्य बाहिर ल्याउनु साटो उल्टै हत्यालाई आत्महत्या बनाउने प्रयास भएको छ। हजराको उपचार र हेरचाहका लागि उनकी आमा अहिले काठमाडौं अस्पतालमै बसेकी छिन्। अन्नपूर्ण अनलाईन बाट
प्रतिक्रिया दिनुहोस्