पोखरा, २८ फागुन । पोखरा लेखनाथ महानगरपालिकाको आजबाट शुरु भएको दोस्रो नगरसभामा १८ वटा विधेयक प्रस्तुत भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गर्नुभएको थियो ।
सभामा प्रस्तुत विधेयकमा महानगरीय ऐनअन्तर्गत कृषि, कृषि बजार प्रवद्र्धन, सहकारी र कर्मचारी व्यवस्थापन ऐन रहेका छन् भने महानगरीय नीतिअन्तर्गत कृषि, पशु, स्वास्थ्य र सार्वजनिक नीजि साझेदारी नीति तथा ऐन छन् ।
महानगरीय कार्यविधिअन्तर्गत शिक्षा, एफएम रेडियो सञ्चालन, योजना आयोग गठन र विधायन समितिको कार्यविधि छन् भने निर्देशिकाअन्तर्गत फोहरमैला व्यवस्थापन, बजार अनुगमन, उपप्रमुखसँग महिला कार्यक्रम र भवन मापदण्ड र विज्ञापन नीति तथा निर्देशिका छन् ।
त्यस्तै महानगरीय न्यायिक समिति विधेयक पनि आजको सभामा प्रस्तुत भएको छ ।
प्रमुख जिसीले विधायन समितिका संयोजक पौडेलले टेबुल गर्नुभएका विधेयकलाई थप अध्ययन गरी त्यसलाई अझै परिष्कृत एवं जनमुखी बनाउन आगामी चैत ६ गते सम्मका लागि सदस्यलाई समय दिनुभयो ।
नगरसभामा प्रमुख तथा उपप्रमुख, ३३ वटै वडाका अध्यक्षसहित पाँच÷पाँच जना र मनोनित आठ जना गरी १७५ जना सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्