बैंकक जनवरी १, २०२५ः जसरी नयाँ वर्षको साँझ मध्यरातको घडी बज्छ, विश्वभरका विभिन्न समुदायहरूले २०२५ को स्वागत आफ्नै विशेष परम्पराहरूका साथ गर्छन् —कसैका परम्परा धेरै प्रसिद्ध छन् भने केहीका कम परिचित, तर उनीहरुका आफ्नै समुदायमा अनिवार्य मनाइने परम्परा हुन् ।
यहाँ केही देशहरूले नयाँ वर्षलाई कसरी मनाउँछन् भन्ने जानकारी छ, अमेरिकाको न्युयोर्क शहरको चर्चित टाइम्स स्क्वायर बल ड्रपदेखि प्याज झुन्ड्याउने परम्पराहरु दिइएको छ ।
टाइम्स स्क्वायर बल ड्रप
न्युयोर्कको टाइम्स स्क्वायरमा बल ड्रप गर्ने परम्परा १९०७ देखि नयाँ वर्षको पूर्वसन्ध्यामा चल्दै आएको छ। यद्यपि जहाजका कप्तानलाई समय सूचित गर्न पोलमा बल झुन्ड्याउने इतिहास १८०० को दशकबाटै शुरु भएको हो ।
आजकल, अमेरिकाका सयौं हजारौं मानिसहरू टाइम्स स्क्वायरमा भेला भएर मध्यरातको घडी बज्ने प्रतीक्षा गर्दै नाचगान गरिरहेका हुन्छन् । टाइम्स स्क्वायरको आधिकारिक वेबसाइटका अनुसार, एक अर्बभन्दा बढी मानिसहरूले यो कार्यक्रम टेलिभिजनमा हेर्छन्।
यो कार्यक्रममा चर्चित टिभी प्रस्तोता र सेलिब्रिटी संगीतकारहरूको प्रस्तुति हुन्छ। यस वर्षका मुख्य कार्यक्रम जोनाथन बेनेट र जेरेमी ह्यासेलले सह–आयोजकको रूपमा प्रस्तुत गर्नेछन्। यसमा मार्क एम्बोर, मिकी गायटन, रीटा ओरा, क्यारी अन्डरवुड, जोनास ब्रदर्सलगायतका कलाकारहरूको संगीत प्रस्तुति रहनेछ। ठूला प्रसारण टेलिभिजन नेटवर्कहरूले पनि टाइम्स स्क्वायरबाट कार्यक्रम प्रत्यक्ष प्रसारणका रुपमा सञ्चालन गर्नेछन् । जसमा एबीसी न्यूजलेले डिक क्लाक्र्स न्यू इयर रकिन’ इभ विथ रायन सिक्रेस्ट र सीएनएनले न्यू इयर इभ लाइभ विथ एन्डरसन कूपर एन्ड एन्डी कोहेन प्रस्तुत गर्नेछन्।
ल्याटिन अमेरिकाः छालमा हामफाल्नु र सेतो पहिरन लगाउनु
ब्राजिलमा, मानिसहरूले सेतो लुगा लगाएर समुद्रकिनारमा भेला भएर नयाँ वर्ष मनाउने परम्परा छ।
समुद्रमा, केही व्यक्तिहरू पारम्परिक अफ्रो–ब्राजिलियन धर्म क्यान्डोम्ब्ले र उम्बन्डाकी समुद्रदेवी ईमान्जालाई चढाउने भेटी समुद्रमा तैराउने गर्छन्। सहभागीहरूले सातवटा छालमाथि हामफाल्ने परम्परा पालना गर्छन्, प्रत्येक छालसँग अघिल्लो वर्षमा भएका राम्रा घटनाका लागि ईमान्जालाई धन्यवाद दिन्छन्। त्यसो गर्दा उनीहरूले आफ्नो खुट्टा पानीबाट बाहिर ननिस्कँदासम्म समुद्रतर्फ पिठ्युँ फर्काउँदैनन्, जसले गर्दा उनीहरूलाई दुर्भाग्य आइ नलागोस् भन्ने परम्परा रहेको छ ।
युरोपः पहिलो पाइलो (फस्र्ट फुटिङ)
स्कटल्याण्डमा नयाँ वर्षको साँझलाई हग्माने भनेर चिनिन्छ। यहाँको परम्परा फस्र्ट फुटिङ अर्थात् मध्यरातपछि कसैको घरमा पहिलो पाइला राख्ने मान्छेसँग सम्बन्धित छ ।
भाग्यको लागि, पहिलो आगन्तुक परम्परागत रूपमा अग्लो, कालो कपाल भएको पुरुष हुनु पर्छ, जसले कोइला, सर्टब्रेड, नुन, ब्ल्याक बन, र व्हिस्की लिएर आउँछ।
आजकाल, यस परम्परालाई आधुनिक शैलीमा, मध्यरातअघि एक पाहुना बाहिर गएर नयाँ वर्ष सुरु हुँदा ढोका ढकढक्याउने अभ्यास गरिएको पाइन्छ। द स्कट्सम्यानका अनुसार, यसरी परम्परा पूरा गरिने उल्लेख गरिएको छ ।
प्याज झुन्ड्याउने परम्परा
ग्रीसमा, परिवारहरूले परम्परागत रूपमा नयाँ वर्षको दिन चर्चमा जान्छन्। चर्चको प्रथाना सेवा पछि, उनीहरू प्याज खोज्छन् र यो घरको ढोकामा वा घरभित्र झुन्ड्याउँछन्। यसले राम्रो स्वास्थ्य, प्रजनन क्षमता, र दीर्घायुको प्रतीक मानिन्छ।
एशियाः घण्टी १०८ पटक बजाउनु
जापानमा, बौद्ध मन्दिरहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा १०८ पटक घण्टी बजाउँछन्। बौद्ध धर्म अनुसार मानिसहरुमा १०८ प्रकारका सांसारिक चाहनाहरू हुन्छन्, र प्रत्येक घण्टी बजाउँदा एउटा चाहना समाप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यो परम्परालाई जोया नो काने भनिन्छ। “जो“ को अर्थ “पुरानो फालेर नयाँतर्फ अघि बढ्नु“ हो भने “या“ को अर्थ “रात“ हो। जापान टुडेका अनुसार, यो परम्पराले नकारात्मकता हटाएर नयाँ शुभकामको सुरुवातको संकेत गर्दछ।
१२ गोल फलहरू खोज्नु
फिलिपिन्समा, नयाँ वर्षको समारोहमा गोलाकार वस्तुहरू महत्वपूर्ण मानिन्छन्। गोल आकारले समृद्धिको प्रतीक दिने विश्वास गरिन्छ । प्रत्येक महिनाको लागि १२ वटा गोल फलहरू चुन्ने चलन छ। मानिसहरूले आफ्नो गोजीमा सिक्का राख्ने, वा टेबलमा छोड्ने गर्छन् जसले गर्दा धन आओस् भन्ने आशा गरिन्छ। उनीहरूले पोल्का डट प्रिन्ट भएका कपडा लगाउने परम्परा पनि पालना गर्छन्।
ब्रिटिश कमेडी हेर्नु
जर्मनी र केही अन्य युरोपेली देशहरूमा, नयाँ वर्षको साँझ १९६० को दशकको ब्ल्याक एन्ड ह्वाइट ब्रिटिश कमेडी स्केच डिनर फर वन हेर्ने परम्परा छ। द गार्डियनका अनुसार, यो परम्परा १९७२ देखि चल्दै आएको हो।
सूटकेस लिएर ब्लकमा घुम्नु
ल्याटिन अमेरिकी देशहरूमा, मानिसहरूले खाली सूटकेस लिएर घरको छेउछाउ दौडने वा हिँड्ने गर्छन्। यसले भाग्य ल्याउने र नयाँ वर्षमा यात्रा हुने विश्वास गरिन्छ।
नयाँ वर्षमा हामफाल्नु
डेनमार्कमा, मानिसहरू साँच्चिकै नयाँ वर्षमा “हाम फाल्छन्।“ उनीहरू कुर्सी वा सोफामा उभिएर मध्यरातमा हाम फाल्छन्। यदि कसैले मध्यरातमा हाम फाल्न बिर्सियो भने, पूरै नयाँ वर्ष खराब भाग्यको हुने मान्यता छ।
दर्जनौं अंगुर खाने
स्पेनमा, नयाँ वर्ष मनाउने एउटा परम्परा मध्यरातको घडी बज्दा प्रत्येक घण्टीका लागि एउटा अंगुर खाने चलन छ । यसले नयाँ वर्षका लागि राम्रो भाग्य ल्याउने विश्वास गरिन्छ। यो परम्पराका लागि विशेष प्रकारको पातलो छाल भएको, फिका हरियो अंगुर प्रयोग गरिन्छ, जुन नोभेम्बरको अन्तिम वा डिसेम्बरमा टिपिन्छ। यो परम्परा एक शताब्दीभन्दा पुरानो हो ।
विविध मिडियाको सहयोगमा
प्रतिक्रिया दिनुहोस्