काठमाडौं, २० चैत । प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्कालाई दोष लगाई जिम्मेवारीबाट पन्छिने बाटोमा नलाग्न सरकारलाई चेतावनी दिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले हालै सार्वजनिक श्वेतपत्रमा अघिल्लो सरकारले गरेका निर्णयलाई अवमूल्यन गरी दोषारोपण गर्ने काम भएको भन्दै आरोप प्रत्यारोपको बाटो नहिँड्न चेतावनी दिनुभएको हो ।
सरकारले सार्वजनिक गरेकोे स्वेतपत्रमा सरकारी ढुकुटी रित्तो अवस्थामा छ भनेर सरकारले अतिरञ्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो । अघिल्लो सरकारले संविधानमा गरेको व्यवस्थालाई कार्यान्वयनका लागि स्वास्थ्य क्षेत्रमा गरेको निर्णयलाई अर्थमन्त्रीले श्वेतपत्रमा फजुल खर्च भनी चित्रण गर्नुभएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।
भुकम्प पीडितको व्यवस्थाका लागि गरिएको थप राहतको व्यवस्थालाई गैरजिम्मेवार भनी व्याख्या गरिएकोमा सांसद रिजाले आपत्ति जनाउनुभयो ।
उत्पादन वृद्धि हुन नसक्नुको कारण नखोजी आयात मात्रै बढेको विषयलाई मात्रै प्राथमिकता देखाई अर्थतन्त्रको अवस्था उजागर नहुने भन्दै उहाँले श्वेतपत्रमा उल्लिखित विषय आफैमा विवादास्पद देखिएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्