काठमाडौं, २२ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।
बिहीबार काठमाडौ महानगरपालिकाले गरेको छलफलमा मन्त्री अधिकारीले रानीपोखरी, धरहरालगायत सम्पदा पुनर्निर्माणमा देखिएको अन्योलतालाई अन्त्य गर्दै पुनर्निर्माण तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
उहाले रानीपोखरी परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नबिग्रने गरी पुनर्निर्माण गर्न र रानीपोखरीमा सौन्दर्यकरण गर्न काठमाडौं महानगर र पुरातत्व विभागलाई समन्वय गरेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी निर्माणका लागी पुरातत्व र बिज्ञहरुको रिपोर्ट बाझिएकाले अन्यौलता सिर्जना भएको बताउनुभयो ।
उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीमा पानी जम्न नसक्ने अबस्था देखिएको भन्दै आफुले स्मारक बनाउने सोचेको बताउनुभयो ।
२०७२ वैशाख १२ को भूइचालोका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेको थियो ।
०७२ माघ २ मै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान सुरू गरे पनि पुनर्निर्माण अघि बढ्न सकेको छैन । रानीपोखरी निर्माणका बिषयमा केही समयअघि काठमाडौका मेयर र उपमेयरबिच बिबाद उत्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्