ओखलढुंगा, २८ चैत । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात समुहले आक्रमण गरेको छ । उनि सुतेकै ठाउँमा आक्रमण भएको स्थानियबासीले जानकारी दिएका छन् ।
मंगलबार राति १० बजे अपरिचित समूहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण प्रहरीले जानकारी दिएको छ । घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ ‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो ’ पौडेले भन्नुभयो ।
पौडेललाई गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि बिहीबार मात्रै थप उपचारका लागि काठमाडौं जाने उहाँले बताउनुभयो ।
आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’दोषिलाई छिटो भन्दा छिटो कारवार्हीको दायरामा ल्याउने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्