काठमाडौं । नेपालको अटोमोबाइल बजारलाई प्रायः नयाँ गाडी, मूल्य, छुट र ग्राहकको खरिद क्षमताको आँखाबाट हेरिन्छ। तर यो क्षेत्रको वास्तविक आकार त्यसको बिक्री काउन्टरभन्दा निकै ठूलो छ।
गाडी आयातसँगै राज्यले ठूलो राजस्व उठाउँछ। डिलरदेखि वर्कसप, बैंक तथा बीमा कम्पनीदेखि स्पेयर पार्ट्स, चालकदेखि प्राविधिक जनशक्तिसम्म यसको प्रभाव फैलिएको छ। सडक, सार्वजनिक यातायात, ऊर्जा, विद्युतीय सवारी, चार्जिङ पूर्वाधार र सहरी गतिशीलताको बहस पनि अन्ततः यही क्षेत्रसँग जोडिन्छ।
यही फराकिलो अर्थमा नेपालको अटोमोबाइल उद्योग अहिले ‘मोबिलिटी’ उद्योगका रूपमा आफूलाई पुनःपरिभाषित गर्ने प्रयासमा छ।
यही सन्दर्भमा नाइमाले आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो ‘मोबिलिटी एक्सपो’ आयोजना गर्दैछ।
पहिलो संस्करणमा ४२ ब्रान्ड सहभागी रहेकोमा यसपटक सहभागिता बढेर ५५ ब्रान्ड पुगेको छ। आयोजकका अनुसार प्रदर्शनीमा ४४ वटा नयाँ लञ्चहुनेछन्।
तर यसपटकको एक्सपोको विशेषता नयाँ गाडीको संख्या मात्र होइन।
यसलाई आयोजकले गाडी प्रदर्शन र बिक्रीभन्दा माथि उठाएर नीति, प्रविधि, लगानी, वित्तीय पहुँच, सडक सुरक्षा र भविष्यको मोबिलिटीबारे बहस गर्ने साझा मञ्चका रूपमा प्रस्तुत गरेको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार एक्सपोको तयारी अहिले अन्तिम चरणमा पुगेको छ।
भृकुटीमण्डपमा स्टल तथा ह्याङ्गर निर्माणको काम तीव्र रूपमा भइरहेको छ भने सहभागी ब्रान्डहरू आफ्ना उत्पादन प्रदर्शनका लागि तयारी अवस्थामा छन्। ब्लु पेभिलियन हलमा हुने लर्निङ सेसनका लागि स्पिकर, मोडरेटर र प्यानलिस्टको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ।
५५ ब्रान्ड, ४४ नयाँ लञ्च : गाडीको नयाँ पुस्ता कस्तो ?
यसपटकको एक्सपोमा सहभागी ५५ ब्रान्डले प्यासेन्जर गाडी बजारको ठूलो हिस्सा समेट्ने आयोजकको दाबी छ।
ए, बी र सी सेग्मेन्टका गाडीदेखि प्रिमियम कारसम्म प्रदर्शनीमा राखिनेछन्। नयाँ ब्रान्ड, नयाँ मोडल र बजारमा पहिलेदेखि रहेका गाडीका नयाँ संस्करणसमेत एक्सपोको आकर्षण बन्नेछन्।
आयोजकका अनुसार ४४ वटा नयाँ लञ्च एक्सपोमा हुनेछन्।
यसले नेपाली अटोमोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गर्छ।
विशेषगरी विद्युतीय सवारीको बढ्दो उपस्थिति, नयाँ प्रविधि, सुरक्षा सुविधा, स्मार्ट कनेक्टिभिटी र ऊर्जा दक्षताले पछिल्लो समय गाडीको परम्परागत परिभाषा नै बदलिरहेको छ।
त्यसैले यसपटकको एक्सपोमा ग्राहकले ‘कुन गाडी सस्तो छ?’ मात्र होइन, ‘भविष्यको गाडी कस्तो हुँदैछ?’ भन्ने प्रश्नको जवाफ पनि खोज्न सक्नेछन्।
मोबिलिटी एक्सपोको सबैभन्दा फरक पक्ष यसपटकका लर्निङ सेसन हुन्। अगस्ट ११ देखि १६ सम्म ब्लु पेभिलियन हलमा विभिन्न विषयमा छलफल हुनेछन्।
वैदेशिक प्रत्यक्ष लगानीदेखि इथानोल ब्लेन्डिङ, रिसाइक्लिङ, वित्तीय पहुँच, युवा उद्यमशीलता र विकाससम्मका विषयलाई बहसमा ल्याइने आयोजकले जनाएको छ।
यसको अर्थ एक्सपोको दायरा गाडीको स्टलभन्दा बाहिर पुग्नेछ। अटोमोबाइल उद्योग आफैंमा अलग क्षेत्र नभएकाले यसको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रसँग जोडिएको नाइमा अध्यक्ष वैद्यको तर्क छ। उनका अनुसार आर्थिक सुस्तताका बीच निजी क्षेत्रका विभिन्न क्षेत्रलाई चलायमान बनाउन यस्ता बहस आवश्यक छन्।
वैदेशिक लगानीसम्बन्धी सत्रमा डोल्मा फाउन्डेसनका सीईओ टिम गोचर सहभागी हुनेछन्। भारतका विज्ञहरूले इथानोल ब्लेन्डिङ र रिसाइक्लिङबारे समेत प्रस्तुति दिने कार्यक्रम छ।
एक्सपोको अर्को महत्वपूर्ण पक्ष सडक सुरक्षासँग जोडिएको छ।
नेपाल प्रहरी र ग्रान्डी हस्पिटलको सहकार्यमा ‘दुर्घटनापछिको सुरक्षा र प्रतिक्रिया’ सम्बन्धी तालिम सञ्चालन गरिनेछ।
आयोजकका अनुसार प्रत्येक दिन बिहान विशेष तालिम तथा युवा उत्प्रेरणा कार्यक्रम सञ्चालन हुनेछ। नेपालमा सडक दुर्घटना र त्यसपछिको उद्धार तथा उपचार व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ।
त्यसैले गाडीको नयाँ मोडल र प्रविधिसँगै दुर्घटना भएपछि कसरी ज्यान जोगाउने, कसरी तत्काल प्रतिक्रिया दिने र कसरी सडक सुरक्षालाई प्राथमिकतामा राख्ने भन्ने विषयलाई एक्सपोमा ल्याइनुलाई उद्योगको दायरा फराकिलो बनाउने प्रयासका रूपमा हेरिएको छ।
एक्सपो चम्किरहँदा नाकामा रोकिएका छन् गाडी
भृकुटीमण्डपमा नयाँ गाडीका चम्किला मोडल प्रदर्शनको तयारी भइरहँदा अर्कोतर्फ चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकामा भने अटोमोबाइल उद्योगका लागि फरक तस्वीर छ।
तातोपानी र रसुवाजस्ता नाकामा कमजोर सडक पूर्वाधारका कारण आयात गरिएका गाडीको ढुवानी प्रभावित भएको नाइमा अध्यक्ष वैद्यले बताएकी छन्।
एक्सपोका लागि ल्याइएका विभिन्न ब्रान्डका केही गाडीसमेत सीमा क्षेत्रमा अड्किएको उनको भनाइ छ।
यसले नेपालको अटोमोबाइल क्षेत्रको पुरानो समस्या फेरि सतहमा ल्याएको छ—
गाडी आयात गर्न निजी क्षेत्र सक्षम छ, तर गाडीलाई बजारसम्म पुर्याउने पूर्वाधार कति सक्षम छ ?
व्यवसायीहरूका अनुसार वर्षायाममा हरेक वर्ष दोहोरिने सडक र सीमा व्यवस्थापनको समस्याले आयातकर्ताको लागत बढाउनुका साथै व्यापारिक योजनामै असर पार्छ।
निजी क्षेत्रले लगानी गरे पनि सडक, भन्सार र सीमा व्यवस्थापनमा राज्यको पूर्वाधार कमजोर हुँदा त्यसको प्रत्यक्ष असर व्यवसाय र अन्ततः उपभोक्तामा पर्छ।
बजारको अर्को ठूलो परीक्षा- कर नीति
अटोमोबाइल उद्योगका लागि अहिलेको अर्को संवेदनशील विषय हो—कर नीति।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले गाडीको मूल्यअनुसार करको संरचनामा गरेको परिवर्तनले विशेषगरी ठूला तथा महँगा गाडीको मूल्यमा प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।
नाइमा अध्यक्ष वैद्यका अनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीलाई मध्यम आय वर्गको पहुँचमा राख्ने र १ करोड रुपैयाँभन्दा माथिका गाडीलाई प्रिमियम वर्गमा राख्ने नीतिले बजारमा फरक प्रभाव पारेको छ।
साना गाडीमा प्रभाव तुलनात्मक रूपमा सामान्य भए पनि ठूला गाडीको मूल्यमा उल्लेख्य प्रभाव परेको उनको भनाइ छ।
तर उद्योगको मुख्य आग्रह भने करभन्दा बढी कर नीतिको स्थिरतामा छ।
व्यवसायीहरूले कम्तीमा पाँच वर्षसम्म कर नीति स्थिर रहनुपर्ने माग गरेका छन्।
किनकि एउटा गाडी आयात गर्ने निर्णय तत्कालको निर्णय होइन।
अर्डरदेखि उत्पादन, ढुवानी, भन्सार, डिलर नेटवर्क र बिक्रीसम्म लामो आपूर्ति शृंखला हुन्छ। बीचमा कर नीति परिवर्तन हुँदा आयातकर्ताको योजना मात्र होइन, ग्राहकको मूल्य अपेक्षा र खरिद निर्णयसमेत प्रभावित हुन्छ।
अटोमोबाइल व्यवसायमा देखिएको अर्को जटिलता विदेशी मुद्रा विनिमय दरसँग जोडिएको छ।
करको सीमाको नजिक मूल्य रहेको गाडीमा डलरको विनिमय दरमा सामान्य परिवर्तन हुँदा पनि नेपाली रुपैयाँमा त्यसको मूल्य माथिल्लो कर स्ल्याबमा पुग्न सक्छ।
यसको प्रत्यक्ष असर गाडीको अन्तिम मूल्यमा पर्न सक्छ।
व्यवसायीका अनुसार यही कारणले मूल्य निर्धारणमा अनिश्चितता बढेको छ।
एकातिर गाडी पहिले नै आयात भएर स्टकमा आइसकेको हुन्छ, अर्कोतिर विनिमय दरको उतारचढावले करको वर्गीकरण बदलिन सक्छ।
त्यसैले व्यवसायीहरूले सरकारसँग कर संरचनामा मात्र होइन, कर निर्धारणको आधार र त्यसमा हुने उतारचढावको प्रभावबारे पनि स्पष्टता मागिरहेका छन्।
दोस्रो मोबिलिटी एक्सपोको सबैभन्दा महत्वपूर्ण सन्देश सम्भवतः यही हो—नेपालको अटोमोबाइल उद्योग अब केवल कार बिक्रीको उद्योग रहेन।
यसको वरिपरि बैंकिङ, बीमा, चार्जिङ पूर्वाधार, ऊर्जा, सडक, यातायात, प्रविधि, रिसाइक्लिङ र रोजगारीको ठूलो संरचना विकास भइसकेको छ।
यसपटक एक्सपोमा दुईवटा चार्जिङ फ्यासिलिटी कम्पनीसमेत सहभागी छन्। बैंकिङ, बीमा र रेस्टुरेन्ट क्षेत्रको सहभागिताले पनि एक्सपोको दायरा परम्परागत अटो शोभन्दा फराकिलो बनाएको छ।
विद्युतीय गाडीको विस्तारसँगै चार्जिङ पूर्वाधारको आवश्यकता बढिरहेको अवस्थामा चार्जिङ कम्पनीहरूको सहभागिताले गाडी र पूर्वाधारबीचको सम्बन्धलाई समेत प्रदर्शनीमा ल्याउनेछ।
त्यसैगरी रिसाइक्लिङ र इथानोल ब्लेन्डिङमाथिको बहसले अटोमोबाइललाई वातावरण र ऊर्जा नीतिसँग जोड्छ।
नीति निर्माता र निजी क्षेत्र एउटै मञ्चमा
यसपटक नाइमाले नीति निर्मातालाई पनि एक्सपोमा अर्थपूर्ण रूपमा जोड्ने प्रयास गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल राष्ट्र बैंक र ट्राफिक प्रहरीका प्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने तयारी गरिएको छ।
व्यवसायीहरूको अपेक्षा भने औपचारिक उद्घाटन र भाषणभन्दा माथि छ।
उनीहरू सडक पूर्वाधार, कर नीति, विदेशी मुद्रा, वित्तीय पहुँच, भन्सार तथा सीमा व्यवस्थापनजस्ता विषयमा सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद चाहन्छन्।
किनकि अटोमोबाइल उद्योगमा एउटा नीतिगत निर्णयको असर केवल आयातकर्तामा पर्दैन।
त्यसले डिलर, बैंक, बीमा, वर्कसप, स्पेयर पार्ट्स, उपभोक्ता र सरकारको राजस्वसम्म प्रभाव पार्छ।
बिक्री बढाउने कि उद्योग बदल्ने ?
नाइमाको दोस्रो मोबिलिटी एक्सपोमा ५५ ब्रान्ड, ४४ नयाँ लञ्च र हजारौँ आगन्तुक आकर्षित गर्ने तयारी छ।
तर यसको सफलता कति गाडी बिक्री भयो भन्ने एउटै मापदण्डले मापन गर्ने हो भने एक्सपोको ठूलो उद्देश्य छुट्नेछ।
किनकि नेपालको अटोमोबाइल उद्योग अहिले एउटा संक्रमणकालमा छ।
परम्परागत इन्धनबाट विद्युतीय गतिशीलतातर्फको संक्रमण, महँगो आयात र कर संरचना, कमजोर सीमा पूर्वाधार, बढ्दो सडक सुरक्षा चुनौती, रिसाइक्लिङ र वैकल्पिक इन्धनको बहस तथा आर्थिक सुस्तताबीच उपभोक्ताको घट्दो क्रयशक्ति—यी सबै प्रश्न एकैपटक उद्योगसामु छन्।
त्यसैले भृकुटीमण्डपमा देखाइने ४४ नयाँ गाडी केवल नयाँ मोडल होइनन्।
तीसँगै नेपालको मोबिलिटीको अर्को चरण कस्तो हुनेछ भन्ने प्रश्न पनि प्रदर्शनमा हुनेछ।
‘एक्सपोमा आएर गाडी मात्र नहेर्नुहोस्’
आयोजकले दर्शकका लागि प्रदर्शनीलाई परिवार तथा साथीभाइसँग समय बिताउन सकिने कार्यक्रमका रूपमा समेत विकास गर्ने तयारी गरेको छ।
‘खल्ती’ एपमार्फत टिकट बुकिङको व्यवस्था गरिएको छ भने प्रदर्शनीस्थलसम्म पुग्न पठाओसँगको सहकार्यमा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा ५५ ब्रान्डका गाडीका साथै रेस्टुरेन्ट र चार्जिङ सुविधासमेत रहनेछन्।
तर आयोजकको मुख्य सन्देश भने स्पष्ट छ—
यो केवल गाडी हेर्ने ठाउँ होइन।
दिउँसोका लर्निङ सेसनमा वैदेशिक लगानी, रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, बीमा, युवा उद्यमशीलता र ट्राफिक व्यवस्थापनबारे छलफल हुनेछ।
प्रत्येक दिन हुने दुर्घटनापछिको व्यवस्थापनसम्बन्धी तालिमले सडक सुरक्षालाई पनि केन्द्रमा राख्नेछ।
यस अर्थमा दोस्रो मोबिलिटी एक्सपो नेपालको अटोमोबाइल बजारको एउटा ‘शोरुम’ मात्र होइन, उद्योगको भविष्यबारे बहस गर्ने मञ्च बन्ने प्रयासमा छ।
गाडीको स्टेयरिङ समात्ने चालकदेखि नीति बनाउने सरकारसम्म—नेपालको मोबिलिटीको दिशा अब सबैको साझा प्रश्न हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्