काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका विकेटकिपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार बंगालका क्रिकेटर पोरेललाई विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोपमा पश्चिम बंगालको हुगली जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो।
हुगली ग्रामीण प्रहरीका अधिकारी कुँवर भूषण सिंहका अनुसार पोरेलविरुद्ध मुद्दा दर्ता भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई सोमबार राति अबेर पक्राउ गरिएको र मंगलबार अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
“उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो र उनलाई पक्राउ गर्न अदालतको आदेश आएको थियो। उनलाई हिजो राति अबेर पक्राउ गरिएको हो। आज अदालतमा पेस गरिनेछ,” सिंहले भने।
मेडिकल विद्यार्थीको उजुरी
पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दर्ता गरेकी थिइन्।
उजुरीकर्ता महिलाका अनुसार उनीहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा थिए र विवाह गर्ने योजनामा थिए।
समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीमा दर्ता भएको मुद्दा नम्बर ३४६/२६ अन्तर्गत पोरेलविरुद्ध भारतीय दण्ड संहिताका धारा ६६ई र ७२ तथा सूचना प्रविधि ऐनका सम्बन्धित प्रावधानअनुसार मुद्दा दर्ता गरिएको छ।
आरोप अस्वीकार
क्रिकेटर पोरेलले भने आफूमाथि लगाइएको आरोप झूटो भएको भन्दै अस्वीकार गरेका छन्।
हुगलीको चन्दननगर निवासी पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्। उजुरीकर्ता महिला भने हुगलीको मोघरामा बस्ने बताइएको छ।
३५ आईपीएल खेलमा ७६९ रन
अभिषेक पोरेल सन् २०२३ देखि आईपीएलमा खेल्दै आएका छन्। उनले दिल्ली क्यापिटल्सबाट अहिलेसम्म ३५ खेल खेल्दै २५.६३ को औसतमा ७६९ रन बनाएका छन्।
पक्राउ र आरोपसम्बन्धी विषयमा अदालतको प्रक्रिया अघि बढिरहेको छ। आरोप प्रमाणित भइसकेको भने होइन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्