प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको बेवारिसे शव फेला परेको छ। प्रहरीले ती शवको पहिचान खुल्न नसकेको जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ७ः३० बजेतिर स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कहाँ–कहाँ भेटिए शव ?
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलामा करिब १२–१३ वर्ष उमेरका बालकको शव फेला परेको छ।
त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोला किनारमा कम्मरभन्दा माथिको भाग मात्रै रहेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोला किनारमा नाम, थर र वतन नखुलेकी एक महिलाको शव फेला परेको छ।
यसैगरी, स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको अवस्थामा एक महिलाको शव भेटिएको छ। सोही लुङ्ग्री खोलामा नाम, थर र वतन नखुलेकी अर्की महिलाको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
थबाङ पहिरोमा बेपत्ता भएकाहरूको हुन सक्ने आशंका
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कौशल पराजुलीले यी शवहरू रोल्पाको थबाङमा गएको पहिरोमा बेपत्ता भएकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
तर, शवको पहिचान तथा घटनाको वास्तविक अवस्था पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले परिवारका सदस्य हराएका व्यक्तिका आफन्तलाई जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न आग्रह गरेको छ। सम्पर्कका लागि ९८५७८३७०४९ र ९८५७८१५५५५ नम्बरमा फोन गर्न सकिने प्रहरीले जनाएको छ।
हालसम्म पाँचै शवको सनाखत हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्