काठमाडौँ । देशका अधिकांश स्थानमा आज वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मौसमविद् उज्ज्वल उपाध्यायले आज अपराह्न र साँझ काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा ठूलो वर्षा हुनसक्ने बताएका छन्। उनले रातिको समयमा मुग्लिन–पोखरा–बेनी राजमार्ग आसपासको करिब ५० किलोमिटर उत्तर र १० किलोमिटर दक्षिणसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन्।
त्यस्तै, आज राति कर्णाली प्रदेशका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र अछाम तथा आसपासका क्षेत्रमा समेत ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् उपाध्यायले बताएका छन्।
उनले ती क्षेत्रमा भोलि बिहानसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार कोसी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ।
विशेषगरी पश्चिम नेपालको पहाडी भूभागमा भारी वर्षा हुनसक्ने र बेलुकादेखि बागमतीदेखि सुदूरपश्चिमसम्म वर्षाको जोखिम बढ्ने डा. पोखरेलले बताएका छन्।
मनसुनी वायुको प्रभाव
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण पहाडी तथा भिरालो क्षेत्रमा पहिरो, नदी तथा खोलामा जलसतह बढ्ने र सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्