काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष २०८२/८३ मा भ्रष्टाचार, अनियमितता तथा कर्मचारीको आचारसंहिता उल्लङ्घनसम्बन्धी २ हजार ५६६ वटा उजुरी परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको वार्षिक प्रतिवेदनमा प्राप्त उजुरीमध्ये ७२ प्रतिशत फर्छ्योट गरिएको जनाएको छ।
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सरकारी निकायमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले अनुगमन, छड्के जाँच तथा उजुरीमाथि छानबिन गर्दै आएको जनाएको छ।
केन्द्र आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पछिल्लो समय प्रविधिको प्रयोगसमेत बढाइएको छ। केन्द्रले सचेतनामूलक स्टिकर सार्वजनिक गर्नुका साथै सार्वजनिक सेवा सन्तुष्टि मापनका लागि क्यूआर कोडसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा देशभरका १ हजार ५७७ सरकारी कार्यालयमा छड्के जाँच तथा अनुगमन गरेको थियो। अनुगमनका क्रममा तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको तथा निर्धारित पोशाक नलगाएको भेटिएका ११ हजार १०१ कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखी पठाइएको प्रतिवेदनमा उल्लेख छ।
सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र आचारसंहिता पालनाको अवस्थामाथि निगरानी गर्नुका साथै केन्द्रले फाइल ट्र्याकिङ, सरकारी सवारीसाधनको प्रयोग तथा बिचौलियाको गतिविधिमाथि समेत निगरानी बढाएको जनाएको छ।
केन्द्रले सार्वजनिक सेवामा हुने ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि नियमित अनुगमनसँगै उजुरी प्रणालीलाई पनि प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ।
सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता उल्लङ्घन गरेको वा कुनै कर्मचारीको सम्पत्ति शंकास्पद रहेको जानकारी भए नागरिकले राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन ०१४२००३४५ मा सम्पर्क गरी उजुरी वा सूचना दिन सक्ने व्यवस्था गरिएको छ।
केन्द्रका अनुसार प्राप्त सूचनाको प्रकृति र गम्भीरताका आधारमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिँदै आएको छ।
सरकारी कार्यालयको अनुगमन, कर्मचारीको आचारसंहिता पालनाको निगरानी र नागरिकका उजुरीमाथि कारबाहीमार्फत सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी तथा जवाफदेही बनाउने कामलाई आगामी दिनमा थप प्रभावकारी बनाउने केन्द्रले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्