काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै आफूलाई नेपाली जनता र अदालतप्रति पूर्ण विश्वास रहेको बताएका छन्।
हङकङबाट नेपाल फर्किएलगत्तै काठमाडौंस्थित निवासमा पुगेका देउवाले त्यहाँ जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
देउवाले आफूले विगतमा पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा गठित शाही आयोगविरुद्ध समेत कानुनी लडाइँ लडेको स्मरण गरे। उनले भने, “पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ। शाही आयोगले पनि जेलमा पठाएको हो।”
आफू र पत्नी आरजू राणा देउवालाई पक्राउ नगर्न अदालतबाट आदेश भएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायबाट समेत केही नरहेको भनिएको दाबी गर्दै देउवाले अहिले पनि न्यायपालिकामाथि भरोसा रहेको बताए।
“यो देशमा जनता, अदालत छ। हामीले देखाउँछौँ। राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ ?” उनले प्रश्न गरे।
जनता नै मालिक
देउवाले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना गरेको स्मरण गर्दै नेपाली जनता नै देशका वास्तविक मालिक भएको बताए।
“नेपाली जनता मालिक हुन्। जनताले जे भन्यो त्यही हुन्छ,” उनले भने।
उनले आफूलाई अदालतप्रति पूर्ण विश्वास रहेको दोहोर्याउँदै देशमा कानुनी शासन र जनताको निर्णय नै अन्तिम हुने धारणा व्यक्त गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्