काठमाडौं । संसदीय समितिको बैठकमा विभागीय मन्त्रीको अनुपस्थितिप्रति सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका हुन् ।
बिहीबार समितिमा जैविक तथा प्राङ्गारिक मलसम्बन्धी विषयमा छलफल भइरहेका बेला सांसद खनालले नीतिगत निर्णय र निष्कर्षमा पुग्न सम्बन्धित मन्त्रालयका जिम्मेवार पदाधिकारीको उपस्थिति आवश्यक रहेको बताए ।
उनले आगामी बैठकमा कृषिमन्त्री र कृषि सचिवलाई अनिवार्य उपस्थित गराउन समितिका सभापतिको ध्यानाकर्षण गराए ।
‘कृषिप्रधान देश भनेका छौँ, गाउँमा जाँदा मल पाइएको छैन भनेर हामीले गाली खानुपरेको छ । त्योसँग सम्बन्धित विषयमा बहस हुँदा सम्बन्धित मन्त्रालयका व्यक्तिलाई राख्न सकेनौँ भने उही पुरानो र नयाँमा केही फरक हुँदैन,’ उनले भने ।
सांसद खनालले संसदीय समितिका बैठकलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए । सम्बन्धित मन्त्रालयका जिम्मेवार पदाधिकारीको उपस्थितिले मात्रै विषयगत छलफललाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।
समितिले उठाएका विषयमा सरकारको स्पष्ट धारणा र कार्यान्वयनको प्रतिबद्धता सुनिश्चित गर्न मन्त्री तथा सचिवको उपस्थितिलाई अनिवार्य बनाउनुपर्नेमा उनले जोड दिए ।
बिहीबारको बैठकमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, प्रयोग र उपलब्धताका साथै किसानले भोग्दै आएका समस्यालगायत विषयमा छलफल भएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्