काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरिएको छ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेत जटिल प्रसूति समस्याका कारण तीन दिनदेखि सुत्केरी हुन नसकेपछि चिकित्सकीय सिफारिसमा हवाई उद्धार गरिएको हो।
बस्नेतलाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याइएको छ। उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
त्यस्तै, आत्महत्याको प्रयासपछि गम्भीर अवस्थामा सल्ले अस्पतालमा उपचाररत एक युवालाई थप उपचारका लागि हवाई उद्धार गरिएको छ। उनलाई चिकित्सकीय सिफारिसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको मन्त्रालयले जनाएको छ।
दुर्गम क्षेत्रमा हवाई उद्धार सेवा
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।
आकस्मिक स्वास्थ्य अवस्था देखिएका नागरिकलाई तत्काल उपचारको पहुँचमा पुर्याउन, जीवनरक्षा गर्न र सुरक्षित स्थानान्तरण सुनिश्चित गर्न हवाई उद्धार सेवा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई आपत्कालीन अवस्थामा राज्यको संरक्षण र विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्न हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको मन्त्रालयको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्