काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बुधबार सार्वजनिक लेखा समितिको बैठकमा गरेको प्रस्तुति अशोभनीय भएको बताएका छन् ।
स्वतन्त्र नागरिक समाजका संयोजक ऋषि धमलासहितको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख अर्यालले संसदीय समितिमा सांसदको अमर्यादित गतिविधिबारे आफूले गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।
सभामुख अर्यालले सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्कालाई बोलाएर सांसद सुनारको प्रस्तुतिबारे ध्यानाकर्षण गराएको धमलाले जानकारी दिए ।
सांसदहरूले संसद् तथा संसदीय समितिमा आफ्ना धारणा राख्दा पदीय मर्यादा र संसदीय परम्पराको ख्याल गर्नुपर्ने सभामुख अर्यालको भनाइ थियो ।
उनले राष्ट्रिय सुरक्षा, राज्यका संवेदनशील अंग तथा सार्वजनिक महत्वका विषयमा टिप्पणी गर्दा थप संवेदनशील र जिम्मेवार बन्न सांसदहरूलाई आग्रह गरेका छन् ।
सभामुखको निर्देशन
सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारको प्रस्तुति संसदीय मर्यादाविपरीत भएको भन्दै सभामुख अर्यालले सभापति खड्कालाई आवश्यक ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले आफ्नो हैसियत, जिम्मेवारी र संसदीय भूमिकाअनुसार अभिव्यक्ति दिनुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रिय सुरक्षा तथा संवेदनशील विषयवस्तुमा टिप्पणी गर्दा विशेष सावधानी अपनाउनुपर्ने भन्दै सभामुख अर्यालले संसद् र संसदीय समितिको गरिमा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्