काठमाडौँ । नागरिक अगुवा तथा अर्थतन्त्र र विकास प्रशासनका ज्ञाता डा. देवेन्द्रराज पाण्डेको परिवारले उहाँको इच्छाअनुसार तीन वटा संस्थालाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
डा. पाण्डेको इच्छाअनुसार उहाँकी छोरी डा. प्रिनिति पाण्डेले मार्टिन चौतारी, नर्थ–साउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई उक्त रकम सहयोग गर्नुभएको हो ।
मार्टिन चौतारी र नर्थ–साउथ कलेक्टिभ्सले डा. प्रिनितिले साउन २२ गते सहयोग रकम हस्तान्तरण गर्नुभएको जानकारी दिएका छन् । बिहीबार दुवै संस्थाका अध्यक्षले प्रेस विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन् ।
विज्ञप्तिअनुसार डा. प्रिनितिले सम्बन्धित संस्थाका प्रतिनिधिलाई हाँडीगाउँस्थित आफ्नै निवासमा भेट गरी रकम हस्तान्तरण गर्नुभएको थियो ।
अनुसन्धानमा सहयोग गर्ने उद्देश्य
डा. पाण्डेले नेपालको गरिबी न्यूनीकरण, समता, न्याय र मानव अधिकारका विषयमा अध्ययन तथा अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गर्न चाहनुभएको थियो ।
उहाँको स्वास्थ्यमा समस्या देखिएपछि निधनअघि नै सहयोग घोषणासम्बन्धी वक्तव्य तयार गरिएको थियो । सोही इच्छाअनुसार परिवारले रकम सहयोग गरेको जनाइएको छ ।
डा. पाण्डेको साउन १ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।
डा. पाण्डेको इच्छा पूरा
डा. पाण्डेको इच्छालाई निरन्तरता दिँदै उहाँकी छोरी डा. प्रिनिति पाण्डेले तीन संस्थालाई एक करोड रुपैयाँ सहयोग गर्नुभएको हो । सहयोगबाट सम्बन्धित संस्थामार्फत सामाजिक न्याय, समता, मानव अधिकार तथा गरिबी न्यूनीकरणसम्बन्धी अध्ययन–अनुसन्धानमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्