गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्ड एक महिनापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। गाउँपालिका र पूर्वाधार विकास कार्यालय, गोरखाको संयुक्त प्रयासमा सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो।
एक महिनाअघि परेको अविरल वर्षाका कारण गाउँपालिका–८ पन्द्रुङकुनामा ठूलो पहिरो गएपछि सडकको महत्वपूर्ण भाग चिराचिरा परी भासिएको थियो। मुख्य सडक अवरुद्ध भएपछि स्थानीयले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका थिए।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन तथा कृषि उपज बजारसम्म लैजानसमेत कठिनाइ भएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरका अनुसार लगातारको वर्षापछि सडक पहिरोमा परिणत हुँदा आवागमन जोखिमपूर्ण बनेको थियो। सडकमा जोखिम बढेपछि स्थानीयलाई गोरखा सदरमुकाम पुग्न वैकल्पिक जोखिमयुक्त सडक प्रयोग गर्नुपर्ने बाध्यता थियो।
पहिरोका कारण सडकको आधार कमजोर भई सडक नै कटान भएको थियो। गाउँपालिकाका अनुसार सडकको मुख्य भाग करिब ३० मिटर तल भासिएपछि सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।
सडक खुलेपछि स्थानीयलाई राहत
करिब एक महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन्। सडक खुलेसँगै गाउँमा खाद्यान्न, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, किसानले कृषि उपज बजारसम्म पुर्याउन तथा स्थानीयलाई गाउँबाट बाहिर आवतजावत गर्न सहज हुने भएको छ।
स्थानीयले तत्कालका लागि सडक सञ्चालनमा आए पनि वर्षायाम अझै बाँकी रहेकाले जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था गर्न माग गरेका छन्। दीर्घकालीन रूपमा सडकको स्तरोन्नति, नाली व्यवस्थापन र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ।
स्थानीय युवा जीतबहादुर नेपालीले सामान्य वर्षामै सडक अवरुद्ध हुने समस्या दोहोरिन नदिन दीर्घकालीन रूपमा सडक संरक्षण तथा स्तरोन्नति गर्नुपर्ने बताउनुभयो।
सडक नियमित सञ्चालनमा आएपछि बारपाक सुलीकोटका गाउँबस्ती र बजार क्षेत्रबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्