म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको प्रसिद्ध धार्मिकस्थल रिखार जाने पदमार्ग निर्माण गरिएको छ। पदमार्गको अभावमा धार्मिक पर्यटक तथा भक्तजनलाई आवतजावतमा समस्या भएपछि गाउँपालिकाले अप्ठ्यारा स्थानमा पदमार्ग निर्माण गरेको हो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५ लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो।
जनैपूर्णिमाका दिन रिखार मन्दिरमा दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो।
रिखार–बगरखर्क पदमार्ग निर्माण योजनाअन्तर्गत विभिन्न स्थानमा गरी ६० मिटर पदमार्ग निर्माण गरिएको रिखार क्षेत्र संरक्षण समिति तथा पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो।
उहाँका अनुसार पदमार्ग नभएका कारण रिखार जाने भक्तजनलाई कठिनाइ हुने गरेको थियो। गाउँपालिकाको बजेटबाट पदयात्राका लागि कठिन स्थानमा पदमार्ग निर्माण गरिएपछि आवतजावत सहज भएको उहाँले बताउनुभयो।
चार हजार पाँच सय मिटर उचाइमा रिखार
धौलागिरि बेसक्याम्प नजिक करिब चार हजार पाँच सय मिटर उचाइमा रहेको रिखार धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। स्थानीयवासीले यस क्षेत्रलाई पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको रिखारलाई सप्तऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको पवित्र तीर्थस्थलका रूपमा चिनिन्छ। यहाँ जनैपूर्णिमाका दिन विशेष पूजाआजा हुने गर्छ।
हिमालको फेदीमा रहेको तलाउमा डुङ्गा आकारको ढुङ्गामाथि रिखार मन्दिर अवस्थित छ। मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। डुङ्गा आकारको ढुङ्गाभित्र रहेको कुवाको पानी कहिल्यै नसुक्ने स्थानीय धार्मिक विश्वाससमेत रहेको छ।
रिखार क्षेत्रमा सप्तऋषि, पौलत्स्य ऋषि र स्वर्गद्वारी महाप्रभुले समेत तपस्या गरी ज्ञान आर्जन गरेको धार्मिक विश्वास रहँदै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्